काठमाडौं। झापाको दमक नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि मावा खोला ठेक्कामा लगाएको छ। दमक र मिक्लाजुङको सीमामा रहेको यो खोला उत्खननका लागि किसान एन्ड दृष्टि बिल्डर्स प्रालिले तीन करोड ५१ लख रुपैयाँमा ठेक्का लिएको थियो।
ठेक्का दिन नगरपालिकाले बनाएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) रिपोर्टअनुसार ४२ सय मिटर लम्बाइ, ३०–४० मिटर चौडाइ र आधा मिटरदेखि एक मिटरसम्म गहिराइमा उत्खनन गर्न पाउनेछ। ४२ सय मिटरमा उत्खनन गर्दा प्रत्येक पाँच सयदेखि ६ सय मिटरको बीचमा ५० देखि सय मिटरको ग्याप राख्नुपर्ने दमक नगरपालिकाका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले बताए। ‘बाढीले ल्याएको नयाँ नदीजन्य पदार्थ मात्र उत्खनन होस् भनेर आधा मिटरदेखि एक मिटर मात्र गहिराइमा खन्न आइइई रिपोर्ट तयार पारिएको हो,’ उनले भने।
तर, ठेक्का लिएको कम्पनीले पछिल्लो समय मापदण्डविपरीत उत्खनन गर्दा पनि दमक नगरपालिका भने मौन छ। ठेक्का लिने कम्पनीले लगातार करिब चार किलोमिटरसम्म बीचमा ग्याप नराखी उत्खनन गरेको छ। उसले मापदण्डविपरीत करिब ८० मिटर चौडाइ र तीनदेखि पाँच मिटर गहिराइमा नदी उत्खनन गरिरहेको हो।
स्थानीय जनप्रतिनिधि निर्वाचनमा व्यस्त भएको र कतिपय जनप्रतिनिधिले राजीनामा दिएको मौका पारेर पाँचगुणा बढी गहिराइमा नदी उत्खनन भइरहेको छ। दमक–३ र मिक्लाजुङको सीमामा पर्ने यो क्षेत्र चुरे क्षेत्र पर्छ। चुरेको अवैध दोहन भइरहँदा पनि ठेक्का लगाउने नगरपालिका र स्थानीय प्रशासन मौन छ। चुनावी बहानामा भइरहेको अवैध उत्खननमा यी निकायले अनुगमन गरेका छैनन्।
नदीजन्य पदार्थ सकिने गरी गहिरो उत्खनन गर्दा नदीमुनिको माटो देखिएको स्थानीय मानबहादुर कुरुङबाङले बताए । ‘नदीको चरम दोहन भएको छ। चुनावको मौकामा सबै व्यस्त भएको वेलामा बालुवा–गिटी सकिएर माटो देखिने गरी दोहन भइरहँदा पनि दमक नगरपालिकाले वास्ता गरेन। एक मिटरसम्म गहिरो खन्नुपर्ने नदी पाँच मिटरसम्म खनिएको छ,’ उनी भन्छन्, ‘चुनावी खर्च उठाउनलाई निवर्तमान जनप्रतिनिधिले यस्तो गरेको हुन सक्छ। उनीहरूको मिलेमतोविना कसरी यस्तो उत्खनन हुन्छ । यसमा प्रशासनको पनि मिलेमतो छ। यहाँको स्थानीयलाई हेपेर यसरी दोहन गरेका छन् । यहाँ गुन्डा राखेर नदी दोहन भइरहेको छ।’
चुनावी आचारसंहिता लागेपछि र दलहरू निर्वाचनमा होमिएपछि दैनिक एक सय ट्रिपरभन्दा धेरै उत्खनन गरेर खोलावरिपरि ‘स्टक’ गरेको उनले बताए। अहिले दुईवटा स्काभेटरले धमाधम उत्खनन गरिरहेको उनको भनाइ छ। ‘उनीहरूलाई अहिले हतार छ । दैनिक एक सयभन्दा धेरै ट्रिपर दैनिक उठाइन्छ। राति ८ बजेसम्म पनि उत्खनन गरिरहेका छन्,’ उनले भने।
विगतमा मावा नदीको अहिलेको जस्तो चरम दोहन नभएको दुम्से खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा स्थानीय हेमदल भण्डारीले बताए। यसपटक भने अत्यधिक दोहन भएको उनको भनाइ छ। ‘यसपटक नदीको चरम दोहन भएको छ। यस्तो दोहन अहिलेसम्म कहिल्यै भएको थिएन। नदीको गहिराइमा नदीजन्य पदार्थ सकिएर माटो नै देखिएको छ। हामीले नगरपालिकामा पनि जानकारी गरायौँ,’ उनी भन्छन्, ‘नगरपालिकाले ठेक्का लिएको कम्पनीले उठाउनुपर्ने परिणामजति नदीजन्य सामग्री अझै उठाइसकेको छैन भनेर टारे।’
मावा नदीको चरम दोहनको असर खानेपानी र सिँचाइमा देखिएको उनी बताउँछन्। ‘नदी गहिरिएको छ। खानेपानीको मुहान माथि छ। सामान्य बाढी आउनेबित्तिकै मुहान बग्छ,’ उनी भन्छन्, ‘यसपटक बर्खामा कसरी पानी खुवाउने भन्ने चिन्ता छ। बोरिङको पानीले मात्र उपभोक्तालाई धान्दैन।’ दमक नगरपालिकाका वातावरण शाखा प्रमुख चौधरीले लगातार चार किलोमिटर र गहिराइमा पाँच मिटरसम्म खनिनु मापदण्डविपरीत भएको बताए। ‘हामी पनि अनुगमनमा गएका छैनौँ। स्थानीय अनुगमन संयन्त्र बनाएका थियौँ। समन्वय समितिले पनि अहिले अनुगमन गरेको छैन । अनुगमन गर्ने जिम्मा उसको हो,’ उनले भने।
जनप्रतिनिधिले राजीनामा दिएको मौका पारेको हुन सक्ने
दमक नगर प्रमुख रोमनाथ ओलीले केही महिनाअघि अनुगमन गर्दा गहिरो खनेको भेटिए पनि लगातार चार किलोमिटर खनिएको नभेटिएको बताए। निर्वाचनको मिति घोषणा भएसँगै जनप्रतिनिधि व्यस्त हुँदा मापदण्डविपरीत उत्खनन भरहेको हुन सक्ने उनले बताए। ‘पछिल्लो दिनमा अनुगमनमा जान पाएको छैन। त्यसको मौकामा मापदण्डविपरीत उत्खनन भएको हुन सक्छ। अनुगमन समितिको संयोजक उपमेयरले पनि राजीनामा दिएको हुँदा अनुगमन गर्न सकेका छैनौँ,’ ओलीले भने, ‘अघिल्लोपटकको अनुगमनमा गहिरो भयो भनेर हामीले रोक्काका लागि चिठी पठाइसक्यौँ । उसले निकाल्न पाउने अलिअलि बाँकी छ। त्यो सकिएपछि उत्खनन गर्न पाउँदैन। गहिरो खनेको सम्याउँछौँ भनेका छन्।’
पछिल्लो समय प्रशासन पनि चुनावकेन्द्रित सुरक्षामा लागेको छ। निर्वाचनको वेलामा हुने गलत कामको नियन्त्रणमा प्रशासन संवेदनशील रहेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। ‘नदीजन्य पदार्थको ठेक्का लगाउने, आइइई गर्ने, अनुगमन गर्ने जिम्मेवारी कानुनअनुसार स्थानीय तहको हो। तर, प्रशासन चुप लागेर बस्दैन। बढी खनिएको गुनासो आए सुरक्षाकर्मी लगाएर नियन्त्रणको काममा लाग्छ,’ उनले भने। नयाँपत्रिका दैनिकबाट