दाङ। संघन सहरी तथा भवन निर्माण आयोजना दाङले तीन वर्षको अवधिमा ४८ किलोमिटर सडक कालोपत्रे गरेको छ। आयोजना सुरु भएदेखि हालसम्म ठूला प्रोजेक्टमार्फत ४८ किलोमिटर निर्माण गरिएको हो।
आयोजनाले साना काम पनि गर्दै आएको छ। जसमा ४२ किलोमिटर सम्पन्न भइसकेको छ भने ६ किलोमिटर अन्तिम तयारीमा रहेको आयोजनाले जनाएको छ। जिल्लामा आयोजना २०७५ भदौबाट सुरु भएको हो। आयोजनाले सडक कालोपत्रेसँंगै फुटपाथसहित नाला निर्माण गरेको हो।
यसका लागि करिब दुई अर्ब वजेट खर्च भएको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ। प्याकेज नम्बर १ अन्तर्गत १४.३ किलोमिटर सडक कालोपत्रे भएको छ। जुन नारायणपुर–नारेवाङ सर्रा सौडियार सडक रहेको छ। जसमा २८.६ किलोमिटर पक्की नाला र फुटपाथसमेत निर्माण गरिएको छ।
प्याजेज २ अन्तर्गत ९.२ किलोमिटर सडक कालोपत्रे भएको छ। जुन घोराही बाँसबोट हापुर हुँदै रक्षाचौर सडक खण्ड रहेको आयोजनाले ताएको छ। रुकुम पूर्वमा १.७४ किलोमिटर कालोपत्रे गरिएको छ। प्याकेज ३ अन्तर्गत १३.६ किलोमिटर सडक कालोपत्रे गरिएको छ।
प्याकेज ३ अन्तर्गत घोराही ल्याण्ड फिल साइट हुँदै बाहुन डाँडा, झिगौरा हुँदै स्वर्गद्वारी आश्रम, रतनपुर चोकबाट भेटेनरी अस्पताल, प्रहरी बोर्डिङदेखि खिरटीया, मालपोत कार्यालयदेखि क्याम्पस तलसम्म र रामपुरको बालीम खोलादेखि सिमलतारासम्मको सडक रहेको आयोजनाले जनाएको छ।
आयोजनाले निर्माण गरेका सडकहरू अन्य सडकभन्दा फरक रहेको समेत स्थानीय बासिन्दाले बताएका छन्। यसले नागरिकलाई सहजता भएको छ।