काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब तीन महिना अर्थात ८८ दिन पछि आज सरकारले पूर्णता पाएको छ । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गरेकी हुन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्रिमा जनता समाजवादी पार्टी (जसपा) की नेतृ रेनुकुमारी यादव नियुक्त भएकी छन् । सत्ता गठबन्धनमा आवद्ध दल जसपाले आफ्नो पार्टीबाट रेनुकुमारी यादवलाई मन्त्री बनाउने निर्णय गरेसँगै आज साँझ ५ बजे उनले शपथ समेत ग्रहण गरिसकेकी छन् ।
निर्वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा प्रतिगमनको विरोध गरी ओली सरकारलाई गलाउन भूमिका खेलेको जसपाको उपेन्द्र यादव पक्षकी रेनुकुमारी यादव पनि प्रतिगमनका विरुद्धमा लागेकी थिइन् । जसपाकै महन्थ ठाकुर पक्षले भने ओलीलाई नै साथ दिएको थियो । सोही समयदेखि दुई समूहमा विभाजित जसपा अन्तत फुटेर गयो । जसपाको आधिकारीकता उपेन्द्र पक्षले पाएपछि महन्थ ठाकुर समूहले पार्टी विभाजन गरि लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) गठन गर्यो । पार्टी भित्रको आन्तरिक विवाद र किचलोकाबीच पनि अडिग भएर कति पनि विचलित नभइ रहेकी रेनुकुमारी यादवको जसपा पार्टी निर्माण र यहाँसम्म पुग्न ठूलो योगदान रहेको जसपाका नेताहरु बताउँछन् ।
राजनीतिमा लामो समयदेखि सक्रिय महिलाको रुपमा रहेकी रेनुकुमारी यसअघि पनि दुई पटक मन्त्री बनिसकेकी छन् । वि.सं. २०५९ सालमा सूर्यबहादुर थापा नेतृत्वकोको सरकारमा उनी महिला, बालबालिका तथा समाजिक सुरक्षा मन्त्री बनेकी थिइन भने वि.सं. २०६४ सालमा शिक्षा मन्त्री बनेकी थिइन् ।
रेनुकुमारीले आफ्नो जीवनकालको धेरै समय व्यक्तिगत रुपमा भन्दा पनि राजनीतिक र सामाजिक रुपमा नै व्यतित गरेकी छन् । नेपालको राजनीतिमा ठूलो योगदान पुर्याएकी रेनुकुमारी सप्तरी जिल्लाबासी हुन् ।
त्यो समय अनि अझ तराइबासी परिवार जहाँ छोरीलाई चाँडै विवाह गरेर पतिको घर पठाइन्छ त्यस्तो समुदायबाट राजनीतिमा सक्रिय भएर तीन पटक सम्म मन्त्री बन्नु कुनै सानो कुरा भने होइन । यसका निम्ति उनले आफ्नो व्यक्तिगत जिवनमा भने धेरै नै संघर्ष गर्नुपरेको उनका चिनजानका व्यक्तिहरुको भनाइ छ ।
रेनुकुमारी यादवले आगामी डेड वर्षको कार्यकालमा देशको भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण काम गर्नेमा तराइबासीको बढी नै अपेक्षा छ । राजनीतिक क्षेत्रमा राम्रो योगदान दिएकी रेनुले अब भौतीक पूर्वाधारको क्षेत्रमा कस्तो योगदान पुर्याउनेछिन त्यो भने हेर्न बाँकी छ ।