सोलुखुम्बु। सोलदुधकुण्ड नरगपालिकाका लागि नेकपा एमालेबाट मेयरका उमेदवार आङकाजी शेर्पाले पाँच वर्षदेखि सोलु नगरको विकासमा व्यापक विभेद भएको आरोप लगाएका छन्।
शनिवार सोलुदुधकुण्ड–८ मा आयोजना गरेको बृहत आमसभा कार्यक्रममा बोल्दै उमेदवार शेर्पाले वितग पाँच वर्षदेखि सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगरपलिकाको विकासमा व्यापक विभेद गरेको आरोप लगाएका हुन्।
नेकपा एमालेप्रति जनता उर्लिएको देख्न नसकेर शेर्पाले केरुङ, गोराखानी र टाप्टीङलाई विकासका योजना प्राथमिकतामा नराखेको आरोप लगाए। शेर्पाले नगरपालिकाको प्रमुख भएर ५ वर्ष विताउँदा अधिकांश समय निर्माण व्यवसायी, जलविद्युत आयोजनाहरुसंग करोडौँ असुलीको धन्दा मात्रै चलाएको दाबी गरे।
उनै व्यक्ति पुनस् नगरपालिकाको मेयरका लागि अघि बढेकाले विकासका लागि नेकपा एमालेका उम्मेदवारलाई मत प्रदान गर्न पनि नगरबासीहरुलाई उनले आग्रह गरे। आफू निर्वाचित भए केरुङ लगायत यस भेगका खाली जग्गाहरुलाई बृहत उपयोग गरि कृषि उत्पादन, पशुपंक्षीको व्यावसायिक योजनाहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। विकासको आधा काम मात्रै भई टुहुरो बनेको बुद्ध पार्कको निर्माण सम्पन्न गर्न, पत्ताले, धाप लगायतका क्षेत्रमा वार्षिक ५ लाख सम्म पर्यटक भित्र्याउने आफ्नो लक्ष्य रहेको मेयरका उम्मेद्वार आङकाजी शेर्पाले बताए ।
यस्तै उपमेयरका उम्मेद्वार मोहनकुमारी कार्कीले खानेपानी, शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारका एजेण्डाहरु एमालेको पहिलो प्राथमिकता भएकाले वडा तहदेखि नगरपालिकासम्म एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरीन् । अबको ५ वर्षमा हरेक गाउँ र टोलहरुमा पुगेको सडकलाई स्तरोन्नती गर्दै कालोपत्रे गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन्।