जनकपुर। ऐतिहासिक महत्वको दशरथ मन्दिरको जग्गामा व्यावसायिक भवन निर्माण भइरहँदा पनि गुठी संस्थान मौन देखिएको छ। मन्दिरका महन्त जगन्नाथ दाससँगको मिलेमतोमा डा. जामुनप्रसाद सिंह र डा. रमण मिश्रले आ–आफ्ना नर्सिङ होम निर्माण गर्न लागेको भन्दै विरोध भएको छ।
‘दुई महिनाअघिदेखि निर्माण कार्य सुरु छ। हामीले सोध्दा महन्तजी (जगन्नाथ दास) ले धर्मशाला बनाउँदै छौं भन्नुभयो तर पछि थाहा भयो, यो भवन त डा. रमण मिश्र र डा. जामुदप्रसाद सिंहको रहेछ,’ जनकपुरधाम नगरपालिका ८ का लालबाबू साहले भने। साहका अनुसार स्थानीयवासीले विरोध गरेपछि चार, पाँच दिनदेखि निर्माण कार्य बन्द छ।
धार्मिक तथा सांस्कृतिक महत्त्वको दशरथ तलावको पश्चिमी–उत्तरी डीलमा अवस्थित दशरथ मन्दिरको महन्त मठिहानीस्थित लक्ष्मीनारायण मठका मान महन्त जगन्नाथ दास वैष्णव नै छन्। मन्दिर वरपर मठको थुप्रै बिघा जग्गा छ। तीमध्ये अधिकांश जग्गा भाडा, लिज तथा अन्य नाममा बिक्री भइसकेको छ। अचेल मन्दिर परिसरमा मन्दिरसँगै टाँसिएरै दुई भवन निर्माण हुन थालेपछि स्थानीयवासी पनि आक्रोशित बन्न पुगेका छन्।
महन्त दासले चार महिनाअघि गुठी संस्थान जनकपुरमा निवेदन दिइ मन्दिरको आय आर्जन गर्ने उद्देश्यले मन्दिरकै लगानीमा सटर निर्माण गर्ने अनुमति माग गरेको देखिन्छ। गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठप्रसाद रेग्मीका अनुसार महन्त दासको निवेदन केन्द्रीय गुठीमा पठाउँदा माग बमोजिम सटर निर्माण गर्ने अनुमति प्राप्त भएको छ। यद्यपि केन्द्रीय गुठीले भाडा निर्धारणबारे कैफियत जनाएको गुठी प्रमुख रेग्मीले जानकारी दिए।
‘महन्तजीले आफैं सटर निर्माण गर्छु भन्नु भएको छ। अरु कसैले भवन निर्माण गर्दैछन् भने छलफल गर्नुपर्छ,’ गुठी प्रमुख रेग्मी कान्तिपुरसँग भने।
सडक विस्तारको क्रममा दशरथ मन्दिरको उत्तरी पर्खाल भत्काइएपछि भूमाफियाहरुको नजर मन्दिरको जग्गामाथि परेको थियो। सुरुमा उनीहरुले सडकतिरै सटर निर्माण गर्न खोजेका थिए तर जनकपुरधाम उपमहानगर पालिकाले सडकमुखमा सटर निर्माण गर्ने अनुमति दिएन। अनि महन्त दाससँगको मिलेमतोमा पर्खालभित्रै व्यवसायिक प्रयोजनको भवन निर्माण सुरु गरिएको थियो।
मन्दिरको प्रखालसँग टाँसिएरै डा। जामुनप्रसाद सिंहको नर्सिङ होम निर्माण हुँदैछ भने मन्दिरको दक्षिणी प्रखालसँग टाँसिएर डा। रमण मिश्रको। तर महन्त जगन्नाथ दास भने भवन निर्माण नभइ मन्दिरको प्रखाल मर्मत भइरहेको बताउँछन्। कान्तिपुरसँगको फोन सम्पर्कमा उनले मन्दिरको पर्खाल मर्मत भइरहेको छ तर भवन निर्माण नभएको जिकिर गरे।
स्थानीयहरूका अनुसार यहाँ मोही, लिज, भाडा आदिको नाममा जग्गा बिक्री गर्नु महन्तहरूको चलन जस्तै बनेको छ। झनै जगन्नाथ दासले त गुरुबाट प्राप्त जग्गालाई स्वआर्जन गरेको प्रमाणित गरी औपचारिक रुपमै जग्गा बिक्री गरेका छन्।
महन्त दास २०२६ साल जेठ २७ गते मठका महन्त नियुक्त भएका थिए। उनी महन्त नियुक्त हुनुभन्दा अघि आफ्ना गुरु पिता कौशलकिशोर दाससँग थुप्रै बिघा जग्गा बक्स गरेको औपचारिक कागज बनाउन लगाएका थिए।
ती जग्गाहरु स्वआर्जन भएको भन्दै बिक्री वितरण पनि गरेका थिए। तर पुनरावेदन अदालत जनकपुरका न्यायाधीश कोमलनाथ शर्मा र मिहिर कुमार ठाकुरको संयुक्त इजलासले २०६७ साल असार २२ गते जगन्नाथ दासले स्वआर्जन भनिएको जग्गा मठकै भएको फैसला सुनाएको थियो।
फैसलामा मुलुकी ऐन, गुठीको महलको १० नम्बर बमोजिम आर्जन गर्ने महन्तका शेषपछि निजका कुनै उत्तराधिकारी महन्तलाई कुनै व्यहोराले मठको जग्गा बिक्री तथा राजीनामा आदि गर्ने अधिकार नभएको उल्लेख गरिएको छ।
यसअघि भैरहवास्थित लक्ष्मीनारायण मठको जग्गा बिक्री गरेको आरोपमा केन्द्रीय गुठी संस्थानले मानमहन्त जगन्नाथ दासलाई निलम्बन गरेको थियो। निलम्बन विरुद्ध निषेधाज्ञा मुद्दा हालेका महन्त दासलाई अदालतले ‘ कामकाज गर्न नरोक्नु ’ भनेको छ। मुद्दा भने अझै पनि अदालतमै छ। कान्तिपुरबाट