काभ्रेपलाञ्चोक। बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले बनेपालाई विशेष गरी खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त शहर बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताएका छन्।
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका पाँच दलीय सत्तागठबन्धनका तर्फबाट शान्ति रत्न शाक्य र नेकपा एमालेका तर्फबाट रत्नकुश रञ्जितकारले खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त शहर बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
नगर प्रमुखका उम्मेदवार शाक्यले आफू निर्वाचित भएपछि बनेपालाई व्यवस्थित शहरको रुपमा विकास गर्ने, बजार क्षेत्रको राजमार्ग सफा गर्ने र फोहरमैलाको उचित व्यवस्थापनको योजना अगाडि सार्ने बताउँदै खानेपानी र डुवानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बनेपालाई पर्यटन र कृषि शहरको रुपमा विकास गर्नेलगायतका विषयलाई समेटेर काम गर्ने बताउँदै उनले यो सहरलाई प्रविधिकयुक्त बनाइने, बनेपाका बाक्लो बस्तीमा निःशुल्क वाइफाइ सेवा पुर्याउने, पुरानो सम्पदाको संरक्षण र सडक व्यवस्थापनलाई प्रमुख प्राथमिकता राखेर काम गर्ने उल्लेख गरे । उनले बनेपा नगरकोट पर्यटकीय सडकलाई विशेष प्राथमिकतामा राखिने उल्लेख गर्दै कृषि र पर्यटक क्षेत्रको पूर्वाधार विकासमा आफूले जोड दिइने बताए ।
त्यस्तै, नगरप्रमुख पदका अर्का उम्मेदवार रञ्जीतकारले चार महिनाभित्रमा खानेपानी समस्या समाधान गर्ने र छ महिनाभित्रमा फोहरमैला व्यवस्थापनअन्तर्गत घरबाट नै फोहर कम उत्पादन गर्ने खालको नीति ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले डुवानमुक्त तथा धुलो, धुवाँ, हिलो र ध्वनी प्रदूषणमुक्त शहर बनाउने उल्लेख गर्दै आर्थिक रुपमा सबल र सक्षम शहरको रुपमा यसलाई विकास गर्ने योजना सुनाए ।