मोरङ। विराटनगर विमानस्थलमा आइतबार बिहान आगोको ठूलो मुस्लोसहितको धुवाँ, वारुणयन्त्र र एम्बुलेन्सको साइरनले विमानस्थलवरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशंकाले त्रसित बनायो । विमानस्थलमा गरिएको ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यास कार्यक्रमले नागरिकलाई ठूलो दुर्घटना भएको आशंकाले त्रसित बनाएको थियो ।
हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यास गरिएको नागरिक उड्डययन कार्यालय विराटनगरले जनाएको छ । अभ्यासका क्रममा विमानस्थलवरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियो । ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यास गरिएको थाहा पाएपछि स्थानीयवासीले राहत महसुस गरेका थिए । विराटनगरबाट उडान गरेको विमान आकाशमा चरासँग ठोक्किँदा पुनः विराटनगरमा आकस्मिक अवतरणका क्रममा भएको दुर्घटनामा यात्रुहरूलाई उद्धार, उपचार र अस्पतालसम्म पुर्याउने कार्यक्रमको पूर्वअभ्यास गरिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
पूर्वपूर्णकालीन अभ्यासमा विमानका यात्रुहरूको जीवनरक्षा, उद्धार कार्यका लागि विमानस्थलका दुई थान वारुणयन्त्र, विभिन्न अस्पतालका ६ एम्बुलेन्स, चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उड्डयन कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।
अभ्यासका क्रममा एउटा स्थानमा आगो लगाई एउटा बसलाई विमान बनाएर सोमा रहेका यात्रुको जीवन बचाउने, उद्धार गर्ने, आवश्यक उपचार दिने सम्बन्धमा प्रयोगात्मक अभ्यास कार्य गरिएको थियो । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दुर्घटनामा पर्ने यात्रुको जीवनरक्षाका लागि सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । विमानस्थलका कार्यालयका प्रमुख उत्सवराज खरेलले यस प्रकारको अभ्यासले आकस्मिक दुर्घटना हुँदा यात्रुको जीवनरक्षामा सहयोग पुग्ने बताए । यस प्रकारको पूर्वपूर्णकालीन अभ्यास प्रत्येक दुई–दुई वर्षमा काठमाडौंबाहिर विराटनगर, पोखरा, भैरहवा नेपालगन्ज, धनगढीलगायतका विमानस्थलमा हुने गरेको कार्यालयका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए ।