काठमाडौं। स्याङ्जा जिल्लामा रहेको नेपालकै पहिलो नमुना होमस्टे (घरबास) सञ्चालित पर्यटकीय गाउँ सिरुबारी पछिल्लो समय सुस्ताउन थालेको छ। सिरुबारी बढिमात्रामा गुरुङ जातिको बस्ती हो।
उक्त पर्यटकिय क्षेत्र सिरुबारी छाडेर अधिकांश स्थानीय बेलायत, हङकङ, भारत र छिमेकी सुविधासम्पन्न सहर पोखरा जान थालेपछि सिरुबारीको पर्यटकीय गतिविधि सुस्ताउन थालेको हो।
श्रम गर्न सक्ने युवाहरु रोजगारीका लागि विदेश जाने र गाउँ छोड्ने देशका अन्य गाउँघर जस्तै सिरुबारीमा युवा जनशक्तिको अभाव बढ्दो छ। ४३ घर परिवारमध्ये ३५ घरबाट सुरु भएको होमस्टे व्यवसाय १९ घरमा सीमित हुन पुगेको छ। झण्डै एक दर्जन घर त रित्तो भइसकेका छन्।
शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत आवश्यकता र समयानुकुल सुविधाको खोजीमा गाउँ छाड्नेलाई नरोकिएको स्थानीय पर्यटन विकास समितिले बताएको छ।
स्थानीय अगुवा तथा पूर्वसांसद क्याप्टेन रुद्रमान गुरुङको अगुवाइमा २०५४ सालमा घोषणा भएको पहिलो होमस्टे गाउँ सिरुबारीमा ४३ घर मध्ये पछिल्लो समय झन्डै ३० घरमा मात्रै मान्छे बस्ने गरेका छन्।
श्रमको अभावमा अर्गानिक उत्पादन हुन छाडेपछि गाउँमै सीमित उमेर पुगेका बुढाबुढीलाई होमस्टे नै बन्द हुने हो की भन्ने चिन्ता थपिँदै गएको छ।
सुविधालाई गाउँ घरसम्मै पुर्याएर पलायन रोक्ने, बाहिरबाट गाउँ भित्र्याउने आफूहरुको योजना रहेपनि स्थानीय गाउँपालिकाले सहयोग नगरेको स्थानीयको बुझाइ छ। जबसम्म गाउँमै आवश्यकता पूरा गर्न सकिँदैन तबसम्म गाउँलेहरु सुविधा खोज्दै सहर जान खोज्नेलाई रोक्न नसकिने उनीहरुको निष्कर्ष छ।