काठमाडौं। गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ७८ वर्षीय झमाकुमारी ओलीलाई घरमै पानी आउला भन्ने कहिल्यै लागेको थिएन। एक गाग्रो पानी लिनका लागि उनी कालीमाटी, ढाडा, गैरापधेँरालगायत स्थानमा पुग्ने गर्दथिन्। ती ठाउँबाट पानी लिएर फर्कंन करिब एक घण्टा लाग्थ्यो तर पछिल्लो एक महिनादेखि उनको घरमा खानेपानीको धारा आएको छ। घरमै पानी आउन थालेपछि उनको दैनिक जीवन धेरै सहज बनेको छ।
कहिलेकाहीँ पानी लिएर फर्कंदा बाटैमा लडेर गाग्री फुटेका घटना अझै ताजै रहेको झमाकुमारीले सुनाइन्। “बिहानै उठेर पानी लिन तलको पधेँरोमा जान्थ्यौँ, फर्केर आउँदा लडेर घैँटो (पानी बोक्ने माटाको भाँडो) फुट्थ्यो”, उनले भने, “बाटैमा घैँटो फुट्दा घरमा श्रीमान्, सासू र ससुराको गाली सहनुपथ्र्यो।” अहिले घरमै पानी आएपछि घरायसी र छिमेकीबीच हुने झगडासमेत धेरै कम भएको उनको भनाइ थियो।
“घरमै पानी आउला जस्तो लागेको थिएन, अहिले पनि सपनाजस्तै लाग्छ”, झमाकुमारीले भनिन्, “गाउँपालिकाको निर्वाचन भएदेखि पानी, बिजुली र बाटोको सुविधा धेरै सहज छ।” घरमै पानी आएदेखि स्थानीय डिम्पल सेन पनि खुसी देखिन्छन्। पधेँरामा पनि प्रशस्त पानी नपाउँदा स्थानीयवासीबीच झगडासमेत हुन्थ्यो तर आजकाल सेनका लागि ती सबै सम्झना मात्र भएका छन्। विगत एक महिनादेखि उनको घरमा खानेपानीको धारा जडान भएको छ। “बिहान दुई घण्टा र बेलुका डेढ घण्टा घरमै पानी आउछ”, डिम्पलले भनिन्, “पानी आएपछि घरको आधाभन्दा धेरै काम घटेको छ।” घरमै पानी आएदेखि पुस्तौंदेखि कुवा र पधेँरोमा धाउने बाध्यता हटेको छ।
त्यस्तै सरसफाइ गर्न, तरकारी लगाउनेलगायत काममा पानी आएपछि धेरै सहज भएको छ। “निर्वाचनका समयमा उम्मेदवारले पानी ल्याइदिने प्रतिबद्धता जनाएका थिए। तर विश्वास लागेको थिएन। उनले भने, “घरमै पानी आएसँगै स्थानीय सरकार र जनप्रतिनिधिप्रति विश्वास बढेको छ।”