काठमाडौं। नेपाल प्रहरी लगायतका सुरक्षा निकायले घरेलु मदिरा नष्ट गरेका समाचार बारम्बार आउँछन् । स्थानीय तह मदिरा निषेधित क्षेत्र घोषणा गर्ने होडमा छन् । तर, नेपालमा रक्सी आयातको तथ्याङ्कले भने जो कोहीलाई पनि जिब्रो टोक्न बाध्य बनाउँछ। विगत ५ वर्षमा रक्सी किन्न नेपालीले विदेश पठाएको रकम सडक खन्न लगाएको भए १५९ किलोमिटर सडक बन्ने रहेछ ।
५ वर्षमा नेपालीले झण्डै १५ अर्ब रुपैयाँको विदेशी मदिरा पिएका देखिन्छ । विश्व बैंकको लागतअनुसार यो रकमबाट नारायणगढ–मुग्लिङ खण्डको १५९ किलोमिटर सडक बन्छ किनकि यो सडक निर्माण गर्दा प्रतिकिलोमिटर ९ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४–०७५ देखि चालू आर्थिक वर्ष २०७८–०७९ को चैत मसान्तसम्ममा १४ अर्ब ७७ करोड ७७ लाख ६ हजार रुपैयाँ बराबरको विदेशी मदिरा आयात भएको छ ।
यो रकमलाई सडक निर्माणसँग तुलना गर्दा ५ वर्षमा नेपालीले १५९ किलोमिटर सडक बनाउन पुग्ने रकम विदेशी रक्सी पिएरै सकेका छन् ।
विदेशी मुद्रा सञ्चितिमा कमी आएपछि ३ महिनाअघि नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुको आयातमा कडाइ गरेको थियो । रक्सीलाई यस समूहमा राखिएको छ ।
विलासिताका वस्तुभित्र पर्ने मदिराजन्य वस्तु चालू आर्थिक वर्षको ९ महिनामा मात्र व्यापारीले ३ अर्ब ३० करोड २८ लाख ७७ हजार मूल्य बराबरको विभिन्न देशबाट विदेशी मदिरा ल्याएका छन् ।
भारत र चीनबाट नेपालमा सबैभन्दा बढी मदिरा भित्रिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा मात्र भारतबाट ७६ करोड ३७ लाख ९६ हजार रुपैयाँको मदिरा आयात भएको छ । यस्तै, चीनबाट २३ करोड ९३ लाख ४३ हजार रुपैयाँ बराबरको मदिरा भित्रिएको छ ।
विभागको तथ्याङ्कअनुसार व्यापारीले ९ महिनामा अस्ट्रेलियाबाट नेपालमा ८ करोड ६६ लाख ९ हजार मूल्यको मदिरा तथा मदिराजन्य वस्तु भित्र्याएका छन् । यस्तै, ब्राजिलबाट ३ करोड २६ लाख २० हजार रुपैयाँ र बेलायतबाट २ करोड ९१ लाख २२ हजार रुपैयाँ बराबरको मदिरा आयात गरिएको छ ।
जापानबाट ३३ लाख ८१ हजार रुपैयाँ बराबरको मदिरा आयात गरिएको छ भने भारत, चीन, बेलायत, जापान, अस्ट्रेलियालगायतका देशबाट वार्षिक साढे ३ अर्ब रुपैयाँभन्दा बढीको मदिरा नेपालमा भित्रिने गरेको विभागको तथ्याङ्कले देखाएको छ ।
विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ३६ करोड ९२ लाख ८० हजार रुपैयाँ बराबरको विदेशी मदिरा तथा मदिराजन्य वस्तु भित्रिएको छ । आ।व। २०७६/०७७ मा २ अर्ब ६३ करोड ९२ लाख ९३ हजार रुपैयाँको मदिरा आयात भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ३ अर्ब ३६ करोड ९२ लाख ८० हजार रुपैयाँ र आर्थिक वर्ष २०७४/०७५ मा ५ अर्ब १२ करोड ९२ लाख ७६ हजार रुपैयाँको मदिरा र मदिराजन्य वस्तु आयात भएको छ ।
नेपाल प्रहरीले ५ वर्षको अवधिमा मात्र नेपाली बजार मूल्यअनुसार करोडौँ रुपैयाँ बराबरको घरेलु मदिरा नष्ट गरेको तथ्याङ्क छ, जबकि विदेशबाट लेवलिङ भएर आएका रक्सी भने खुलमखुला बिक्री भइरहेका छन् ।
विदेशी रक्सी खरिद अचाक्ली भइसक्दा पनि सरकारले स्थानीय मदिरा उत्पादनलाई भने दुरुत्साहन नीति लिएको पाइन्छ । घरेलु मदिराको उत्पादन र प्रयोग रोक्न सक्रिय सरकारी संयन्त्र यसलाई गुणस्तरीय बनाएर आयात घटाउने अभियानमा नलाग्दा नेपालमा मदिरा आयात अस्वाभाविक बढेको स्वदेशी उद्योगी, व्यापारीहरूको मत छ । आजको 'द नेपाल टप'बाट