धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको २२ करोड रुपैयाँ लगानीमा प्रादेशिक आयुर्वेद चिकित्सालय भवन तयार भएको छ। निर्माण कम्पनीबाट भवन हस्तान्तरण भएपछि चालू आर्थिक वर्षभित्रै ५० शैय्याको आयुर्वेद चिकित्सालय सञ्चालनको तयारी गरिएको छ। अहिले धनगढी उपमहानगरपालिका–८ मा क्लिनिकको रूपमा सञ्चालन भइरहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन उपमहानगरपालिकाको वडा नम्बर १३, राजपुरमा निर्माण भएको हो।
चिकित्सालयका प्रमुख डा। खगेन्द्र बमले बिजुली जडानबाहेकको भवन निर्माणको काम सबै सम्पन्न भइसकेको बताए। उनले छिट्टै भवन चिकित्सालयलाई हस्तान्तरण हुने र चालू आर्थिक वर्षको अन्तसम्ममा चिकित्सालयको सेवा सुरु गरिने बताए। उनले चिकित्सालयले अक्कुपञ्चर, पूर्वकर्म, पञ्चकर्म, योगलगायत आयुर्वेद चिकित्सा पद्दतिका सम्पूर्ण सेवा चिकित्सालयमा हुने गरी भवन, जनशक्ति र उपकरण व्यवस्थापन भइरहेको बताए । उनले सुदूरपश्चिम प्रदेशमा आयुर्वेद चिकित्साको सबै सेवा एकै ठाउँमा दिने गरी पहिलो पटक ठूलो अस्पताल सञ्चालन हुन गइरहेको बताए।
चिकित्सालयका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३६ जनाको दरबन्दी स्वीकृत गरेको छ। डा. बमका अनुसार ६ जना आयुर्वेद विशेषज्ञ डाक्टर, ४र४ जना कविराज र वैद्य, ६ जना नर्सिङ स्टाफ, योग गुरु, कार्यालय सहयोगीलगायतको दरबन्दी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको छ। “अहिले नै स्वीकृत दरबन्दीअनुसार चिकित्सालयमा जनशक्ति छैन,” डा. बमले भने, “राजपुरमा चिकित्सालय सुरु भएपछि स्वीकृत दरबन्दीअनुसार जनशक्ति भर्ना लिन्छौ।”
आयुर्वेद अस्पतालका लागि चाहिने उपकरण र औषधिहरूको आपूर्तिसमेत हुन थालेको छ। बेडलगायतका फर्निचरहरू चिकित्सालय भवनमा जडान भएका छन्। “केही औषधि र उपकरणहरू हस्तान्तरण भएर आइसकेका छन्,” डा. बमले भने, “केही आउने क्रममै छन्। अस्पताल सुरु गर्दासम्म लगभग सबै उपकरण आइसक्छन्।” आजको कारोबार दैनिकबाट