काठमाडौं। लमजुङको मस्र्याङ्दी करिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रसारणलाइन निर्माणकार्य रोक्न प्रभावितले माग गरेका छन्। विद्युत प्रसारणलाइन निर्माण गरेको नेपाल विद्युत प्राधिकरणले प्रभावितहरूलाई धम्काएर काम अघि बढाएको भन्दै तत्काल काम रोक्न माग गरेका हुन्।
आयोजना प्रभावित क्षेत्र दोर्दी–१ र २ का स्थानीयले मंगलबार सदरमुकाम बेसीसहरमा पत्रकार सम्मेलन गरी आयोजनाले बल मिचाइ गरेको आरोप लगाएका हुन्। आयोजना सुरु भएसँगै आन्दोलनरत प्रभावित क्षेत्रका बासिन्दाहरूले पछिल्लो समय आफ्ना माग पूरा नहुँदै प्रशासनको बलमा धम्काएर काम अघि बढाएको भन्दै त्यसको विरोध गरेका हुन्।
एफपिक तथा अधिकार मञ्च लमजुङको समन्वयमा प्रभावितहरूले पत्रकार सम्मेलन गरेका हुन्। प्रभावितहरूले प्रभावित समुदायलाई प्रहरी प्रशासन परिचालन गरी धाकधम्की दिने, धरपकड गर्ने तथा थुनामा समेत राख्ने गरेको भन्दै त्यसको विरोध गरेका छन्। सोबाहेक युरेपेली लगानी बैकको उजुरी सुन्ने निकायले दिएको प्रतिवेदनको निष्कर्ष सुझावहरू अक्षरशः कार्यान्वयन गर्न पनि माग गरेका छन्।
सोबाहेक युरेपेली युनियनले निकालेको निष्कर्ष सुझावको आधारमा प्रभावितको सहभागितामा मुआब्जा पुनः मूल्याँकन गरी क्षतिपूर्ति निर्धारण गर्नुपर्ने, प्रभावित समुदाय, युरेपियन लगानी बैंक र प्राधिकरणबीच त्रिपक्षीय वार्ता हुनुपर्ने प्रभावितहरूको माग छ। प्रभावित समुदायको माग सुनुवाइ नहुँदासम्मका लागि आयोजना निर्माणकार्य रोक्न विशेष माग रहेको एफपिक लमजुङका सचिव चन्द्र मिश्रले बताए।
राष्ट्रिय विद्युत प्रसारणलाइन निर्माणको क्रममा गत आइतबार दोर्दी–१, ढोके गाउँकी पवित्रा थापालाई कुटपिट गरिएको, स्थानीय सन्तोष गिरि, संजिव थापा र राजेश थापालाई प्रहरी नियन्त्रणमा लिएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन्।
आयोजना सुरु भएदेखि नै प्रभावितहरूले आफ्ना समस्या राख्दै आए पनि समस्याको कुनै सम्बोधन नगरी जनताको अधिकार खोस्ने काम गरेको भन्दै विरोधमा उत्रिएको बताएका छन्। आफ्नो नाममा भएको जग्गा आफैले उपभोग गर्न नपाउने, उक्त जग्गाको उचित क्षतिपूर्ति उपलब्ध नहुँदा सुकुम्बासी बन्नुको विकल्प नभएको उनीहरूको गुनासो छ।
यसअघि पनि मस्र्याङदी करिडोरअन्तर्गत राईनास, दोर्दी, बेसीसहर र मस्र्याङदी गाउँपालिकाका प्रभावितहरू पटक पटक आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन्। आफ्ना मागका विषयमा पटक–पटक सम्बन्धित निकायमा आग्रह गरे पनि सम्बोधन नगरेको उनीहरूको गुनासो छ।
लमजुङको मस्र्याङ्दी करिडोरअन्तर्गत राईनासको धमीलीकुवादेखि २२० केभी राष्ट्रिय विद्युत प्रसारणलाइन निर्माणको क्रममा छ। प्रभावितहरूले अधिग्रहण गरिएको जग्गामा उचित मुआब्जालगायतका विषयमा पटक–पटक प्रशासन कार्यालय र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। आजको कारोबार दैनिकबाट