काठमाडौं। लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको माझमा रिडी क्षेत्र रहेको छ। उत्तरतिरबाट कालीगण्डकी आएर यस ठाउँलाई तपोभूमि बनाई पूर्वतिर बगेको छ। पश्चिमबाट आएको रिडी नदी कालीगण्डकीमा मिसिएर संगम बनेको छ। रिडी नदी पाल्पा र गुल्मी जिल्लाको सिमाना हो भने कालीगण्डकी गुल्मी, पाल्पा र स्याङ्जा एवं लुम्बिनी र गण्डकी प्रदेशको सीमा बनी अविरल बगेको पाइन्छ। चारैतिरबाट पहाडले घेरिएको यो क्षेत्र समुद्री सतहबाट सबैभन्दा तल ४ सय ६५ मिटरको उचाइमा रहेको छ।
कालीगण्डकी एवं रिडी नदीको शीतल जल सदैव निरन्तर उपलब्ध छ। हालसालै यहाँ माथि उल्लिखित तीन जिल्लालाई जोड्ने तीनमुखे आकर्षित झोलुङ्गे पुल तयार हुँदै छ। यो क्षेत्रलाई सो पुलले ठूलो शोभायमान दिएको छ। सुन्दर बगैँचा, चौतारीहरू र मठमन्दिर तथा प्राकृतिक गुफाहरूले यो ठाउँलाई धार्मिक तपोभूमि, पर्यटकीय र ऐतिहासिक भूमि बनाएको छ। रिडी ऐतिहासिक, धार्मिक, पर्यटकीय एवं व्यापारिक केन्द्र हो भन्नुमा अत्युक्ति हुँदैन। यो पावन क्षेत्र शास्त्रीय परम्परामा पनि अविरल गतिले चलेको छ। यो तपोभूमिले आफ्नो ऐतिहासिक, धार्मिक, प्राकृतिक गौरवलाई सुरक्षित राखी आधुनिकतालाई अँगाल्ने क्षमता प्राप्त गरको पाइन्छ।
यस क्षेत्रको नाम रिडी राख्नुमा विभिन्न कारण छन्। सोमध्ये एक महत्वपूर्ण कारण यहाँ प्रस्तुत गर्न सान्दर्भिक होला। सोअनुसार मानिस जन्मदा लिएर आउने तीन ऋण (देव ऋण, पितृ ऋण र ऋषि ऋण) लाई मोक्ष गराउने हुनाले ऋणी नाम भएकी नदी पश्चिमतिरबाट आएको पाइन्छ। उत्तर दिशा हिमालयदेखि शालिग्राम पाइने कालीगण्डकी कलकल बग्दै आएकी छन्। रिडी (ऋणी) र कालीगण्डकीको संगममा स्नान गर्नेहरूको पाप पखालिन्छ र मानिस माथि उल्लेख गरेको तीन ऋणबाट मुक्त हुन्छन्।
यही संगममा ध्यानशील मानवहरूलाई कलियुगमा मोक्ष दिनका लागि भगवान् ऋषिकेश प्रकट हुनुभएको भनाइ छ। बिस्तारै ऋणीको अपभ्रंश भई रिडी भएको हो भन्ने भनाइ छ। कालीगण्डकी र रिडीको माझमा भगवान् ऋषिकेश प्रकट भई यो संगमको महिमा बढाई महान् रिडी तीर्थ नै बनाइदिनुभयो। वास्तवमा कालीगण्डकी, रिडी यिनको संगम ऋषिकेश भगवान् समङ्गक्षेत्र भृगुआश्रम, भृगुतुगेश्वर, रुरुक्षेत्र, पञ्चकोसीको माझ यस प्रकार सातवटा शास्त्रीय निर्मितले गर्दा रिडी क्षेत्रको माहात्म्य महान् छ।
महान् विश्वविख्यात पुण्यवती कालीगण्डकी नदी जहाँ पवित्र शालिग्राम प्रकट हुन्छन्, माथि उल्लिखित शास्त्रीय कारणले गर्दा पावन क्षेत्र रिडीको विशेष महत्व छ। यस क्षेत्रमा मुख्य ऋषिकेश, रुरुकन्या मन्दिर, देवदत्त पार्क, रिडी, सिद्धबाबा कालिका मन्दिर, शिवालय, विष्णुमन्दिर, कालिकामन्दिर, राधाकृष्ण मन्दिर, त्रिमूर्ति श्री त्रिपुरेश्वर महादेव, और्वाश्रमेश्वरी भगवती मन्दिर, खाँणदेवी मन्दिरलगायत सयौँ मठमन्दिर, गुफा, घाट आदि छन्। रिडी क्षेत्रका प्रसिद्ध धार्मिक मेलाहरू हरिबोधनी एकादशी, पौषे औँसी, माघे संक्रान्ति, ग्रहणस्नान, गयाश्राद्ध, शतबीज छर्ने, रामनवमी, वैशाख संक्रान्ति, दशहरा, हरिशयनी एकादशी, श्रीकृष्ण जन्माष्टमी, ऋषिकेशको रथयात्रा (कार्तिक शुक्ल पक्षको द्धादशी), अस्थि सेलाउने र परम्परागत अन्य धेरै मेलाहरू यस क्षेत्रमा लाग्छ।
विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ। विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ। विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ। यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै धार्मिक पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ। विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ। यसै परिवेशमा विश्वमा महामारीको रूपमा फैलिएको कोरोना महामारीले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ। सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन्। सो कारण बेरोजगारीको समस्या हल गर्नका लागि धार्मिक पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ।
समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ। नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै धार्मिक पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो।
यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यम स्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक, सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ। नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले धार्मिक पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ, जसबाट यस क्षेत्रका जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ।
भगवान् गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन तथा धार्मिक पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रका रूपमा समेत चिनिन्छ। आर्य तथा मंगोल संस्कृतिको सङ्गमस्थल रहेको क्षेत्र हिन्दू तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्राम स्थलको रूपमा रहेको छ। यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको साझा फूलबारी हो।
यो क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ। ऐतिहासिक एवं पर्यटकीय स्थल हुँदाहुँदै पनि सो स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन। यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन।
सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण रिडी क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ। ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो।
यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षक स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा–सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन। यस क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ।
रिडी क्षेत्रमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ। पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ। नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्ववहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यकता रहेको छ। पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस रिडी क्षेत्रभित्रदेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ। धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो। कारोबार दैनिकबाट