फाइल तस्बिर
रुपन्देही। बुटवल उपमहानगरपालिका–१३ मा पर्ने बेलवास—बेथरी सडकको नाममा बेलवास जोडिएको छ, तर यो सडक बेलवाससँग भने जोडिएको छैन। बेलबास–वेथरी नाम राखिएको यो सडकखण्ड नहरपुरसम्म मात्र पुगेको छ।
निर्वाचन नजिकिँदै गर्दा स्थानीयले भोट माग्न आउने उमेदवारहरुलाई आजभोलि एउटा मुख्य माग राख्छन्, ‘बेलवास—बेथरी सडकखण्डलाई बेलवासको झोलुङ्गे पुलसम्म जोड्न पर्यो।’
पर्यटन मार्गको रूपमा निर्माणाधिन वेलवास—वेथरी सडकखण्डको नहरपुरसम्म मात्रै विस्तार भएकाले त्यसलाई पूर्वपश्चिम राजमार्गको बेलवास झोलुङ्गेपुल चोकसम्म जोड्न मतदाताहरुले आग्रह गरेका हुन्।
स्थानीय तह निर्वाचन प्रचारका लागि घरदैलो कार्यक्रममा पुगेका नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराई समक्ष स्थानीयले बेलवास—वेथरी पर्यटन सडक निर्माण सम्पन्न हुने चरणमा रहेकाले यसलाई नहरपुरचोकदेखि विस्तार गरेर राजमार्गसम्म ल्याउन माग गरे। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलदेखि बुटवल,ऐतिहासिक नुवाकोटगढी, पाल्पा हुंदै पोखरा जाने यात्रुहरूका लागि समेत यो सडक छरितो हुने भएकाले यसलाई छिटो राजमार्गसंग जोड्न माग गरेका हुन् ।
उनीहरूले वडाका सवै टोलमा खुला व्यायामशाला निर्माण गर्न, पाणिनी उद्यानका लागि यथेष्ट बजेट बिनियोजन गर्न, विपन्न परिवारका कम्तिमा एकजना सदस्यका लागि रोजगारीको व्यवस्था गर्न माग गरे।
वृद्धवृद्धाहरुको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाउन, उनीहरुको मनोरञ्जनका लागि खुला मनोरञ्जन क्षेत्र बनाउन समेत मतदाताले आग्रह गरेका छन् । उनीहरूले टोलटोलमा सामुहिक लगानी मार्फत सामुहिक आम्दानी हुने खालका कार्यक्रमहरू ल्याउन उम्मेदवार भट्टराई समक्ष आग्रह समेत गरे ।