काठमाडौं। म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा रहेको ऐतिहासिक खड्गभवानी कोत मन्दिरको धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि पदमार्ग निर्माण भएको छ। पछिल्लो पाँच वर्षको अवधिमा कोतमन्दिर परिसरमा पदमार्गलगायत विभिन्न संरचनाहरु निर्माण गरिएको हो।
खड्गभवानी कोत मन्दिरसम्म पुग्ने पदमार्ग, मन्दिरको मूल गेट तथा मर्मतसम्भार, प्लास्टर, पटाङ्गिनी निर्माण र घेराबारलगायत संरचनाहरु निर्माण गरिएको ज्यामरुककोट क्षेत्र विकास तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मन्दिर व्यवस्थापन समिति र स्थानीय बासिन्दाको पहलमा वडा कार्यालय तथा बेनी नगरपालिका र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सहयोगबाट मन्दिरमा विभिन्न भौतिक पूर्वाधारहरु निर्माण भएका हुन्।
ज्यामरुककोटस्थित फापरखेत कन्थराथानदेखि कोत मन्दिरसम्म ३ सय ७० मिटर लामो पदमार्ग निर्माण गरिएको छ भने भकुण्डेदेखि कोत मन्दिर परिसरसम्म ३ सय १५ मिटरको अर्को पदमार्ग बनाइएको छ।यसै गरी, चालू आर्थिक वर्ष २०७८।०७९ मा थप १ सय ९२ मिटर रेलिङसहितको पदमार्ग पनि निर्माण गरिएको छ।
मन्दिरमा पुग्न दुईतर्फ गरेर कुल ४३ लाखको पदमार्ग, ७ लाखको मन्दिर घेराबार, साढे २ लाखको गेट र १ लाख रुपियाँको पटाङ्गिनी निर्माण गरिएको बताइएको छ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले ज्यामरुककोटको प्रचार–प्रसार तथा खड्गभवानी कोत मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदमार्गलगायत भौतिक संरचनाहरु निर्माण गरिएको हो।
त्यस्तै, मन्दिर परिसरमा रहेको नेपाल टेलिकम तथा दूर सञ्चारको मोबाइल बीटीएस टावरमा पनि फोरजी सेवा जडान र सञ्चालनका लागि टावरको क्षमता बढाइएको छ।
धार्मिक पर्यटनको सम्भावना बोकेको खड्गभवानी कोत मन्दिरको परिसरबाट म्याग्दी जिल्लाको साविकका २१ वटा गाविसहरु देखिन्छन्।
बेनीदेखि नजिकै पैदलयात्रा र सवारीसाधनबाट सजिलै पुग्न सकिने खड्गभवानी कोतमा नेपालमा बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन मल्ल राजाहरुले राज्य गरेका थिए।