काठमाडौं। रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका शुकबहादुर बुढामगरले मन्दिर, गुम्बा र चर्च निर्माणका लागि बजेट विनियोजन गर्ने घोषणा गरेका छन्। चुनावी प्रतिबद्धता पत्रमा बुढामगरले पालिकाका ६ वटै वडामा सबै धर्मावलम्बीका लागि बराबर बजेट छुट्याइने घोषणा गरेका हुन्।
‘धार्मिक सहिष्णुतालाई खलल नपुग्ने गरी प्रत्येक वडामा मन्दिर, गुम्बा र चर्च निर्माणका लागि अनुदानको व्यवस्था गरिने छ’, प्रतिबद्धतापत्रमा भनिएको छ।
जनस्तरबाट मन्दिर, चर्च र गुम्बा निर्माणको माग अत्यधिक आउने गरेको भन्दै उनले त्यही मागलाई सम्बोधन गर्ने क्रममा भौतिक संरचना बनाउन अनुदान दिइने उनले बताए।
संविधानले नेपाललाई धर्मनिरपेक्ष मुलुक भनेकाले सरकारले सबै धर्मावलम्बीको उत्तिकै सम्मान गर्नुपर्ने तर्क बुढाले गरे। धार्मिक सहिष्णुता बचाउने उद्देश्य आफूहरुको रहेको उनको भनाइ थियो। ‘राज्यको हिसाबले हेर्दा धर्मनिरपेक्ष भएपछि सबैलाई बराबरी व्यवहार गर्नुपर्छ’, बुढाले भने, ‘हिन्दूलाई मन्दिर, क्रिश्चियनलाई चर्च र बौद्ध धर्मावलम्बीकालागि गुम्बा बनाउन अनुदान दिने हाम्रो कार्यक्रम छ।’ जनयुद्धकालमा धर्मप्रति अनुदार बनेको आरोप माओवादीलाई लाग्ने गरेको थियो।
चुनावी प्रतिबद्धतापत्रमा बुढाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एमबीबीएस अध्ययन गर्ने छात्ररछात्राका लागि छात्रवृत्तिको व्यवस्था गरिने कार्यक्रम राखेका छन्। एक वर्षमा कम्तिमा २ जना र पाँच वर्षमा १० जनालाई पालिकाले निःशुल्क चिकित्सा शिक्षा अध्यापन गराउने नीति रहेको जानकारी उनले दिए।
यस्तै ६० वर्षमाथिका ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य परीक्षण गराउने तथा आर्थिक विपन्नता भएका र द्वन्द्व पीडितहरुको पहिचान गरी स्वास्थ्य बीमा गरिने उनको घोषणापत्रमा छ।
विद्यालय मर्ज हुँदा पनि अनुदान
पालिकाभित्रका माध्यामिक विद्यालयहरुले दिने भर्ना, परीक्षा, अभिभावक र प्रमाणपत्र शुल्क पूर्ण रुपमा अन्त्य गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको । समायोजन हुन चाहने विद्यालयहरुलाई अनुदानको व्ययवस्था गरिने बुढाको घोषणा छ।
दुई प्राथमिक विद्यालय बीच समायोजन भए १० लाख, प्राथमिक र निम्न माध्यामिक विद्यालय समायोजन भए २० लाख, निम्न माध्यामिक र माध्यामिक विद्यालय समायोजन भए ३० लाख र दुई माध्यामिक विद्यालय आपसमा समायोजन भए ५० लाख अनुदानको व्यवस्था गरिने बुढामगरले बताएका छन्।
गाउँपालिकामा प्राथमिकदेखि माध्यामिकसम्म ४३ विद्यालय छन्। आर्थिक रुपमा विपन्न दलित समुदाय र शहीद परिवारका छोराछोरी र नातिनानातिनासम्मलाई अध्यापन गराउन पालिकास्तरमा आवासीय विद्यालय स्थापना गर्ने पनि घोषणापत्रमा उल्लेख छ।
अनाथ तथा टुहुरा बालबालिकाको शिक्षाको पूर्ण जिम्मेवारी लिने, गाउँपालिकालाई खरको छानामुक्त बनाइने, पालिकाका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माण गरिने तथा गाउँपालिकाका हरेक घर धुरीलाई सहकारीमा आवद्ध गर्ने लक्ष्य पनि राखिएको छ।
परिवर्तनमा माओवादी केन्द्रबाट अध्यक्षमा शुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी खत्रीनी उम्मेदवार छन्। यो २०७४ सालमा माओवादीले क्लीन स्वीप गरेको स्थानीय तह हो।
यस गाउँपालिमा माओवादीविरुद्ध कांग्रेस, एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ। अध्यक्षमा कांग्रेसका तर्फबाट विश्वकुमार चन्द र उपाध्यक्षमा एमालेकी सपना रोकामगर उम्मेदवार छन्। अनलाईन खबरबाट