सुर्खेत। कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको छोटो वृत्तचित्र निर्माण प्रतियोगितामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का अनिश गहतराज प्रथम भएका छन्। शे–फोक्सुण्डो डोल्पासम्बन्धी छोटो वृत्तचित्र निर्माण गरेका उनले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन्।
डोल्पाको त्रिपुरासुन्दरी छलामष्टासम्बन्धी वृत्तचित्र निर्माण गरेका वीरेन्द्रनगर नगरपालिका–८ का किरणकुमार बैगार र शे–फोक्सुण्डो डोल्पासम्बन्धी नै वृत्तचित्र निर्माण गरेका ललितपुरको धापाखेलकी अन्नता भण्डारी द्वितीय भए।
दुवैलाई जनही एक लाख १२ हजार ५०० पुरस्कार प्रदान गरिएको छ। मन्त्रालयका पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीका अनुसार कालिकोटको पचालझरनाको वृत्तचित्र बनाएका वीरेन्द्रनगर–८ का प्रमोद आचार्य र पचालझरना गाउँपालिका–४ की सदीक्षा सेजुवाल तृतीय भए। उहनीहरुलाई जनही ७५ हजार पुरस्कृत गरिएको छ।
यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिका–२ का गणेश देवकोटा, रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का महेश केसी, वीरेन्द्रनगर नगरपालिका–९ का प्रबल मानन्धर र सोही नगरपालिका वडा नम्बर ८ का जीवन सुवेदीले सान्त्वना पुरस्कार पाए। उनीहरुलाई जनही ३७ हजार ५०० बाट पुरस्कृत गरिएको छ। देवकोटाले मुगुको चङ्खेली हिमाल, केसीले रुकुमपश्चिमको डिग्रे साइकुमारी मन्दिर, मानन्धरले राराताल र सुवेदीले सुर्खेत उपत्यकाको छोटो वृत्तचित्र निर्माण गरेका थिए।
यस्तै, सामाजिक सञ्जालका लागि छोटो वृत्तचित्र निर्माण गरेका बैतडीको दशरथचन्द नगरपालिका–१ का पञ्चदेव भट्ट, सानीभेरी नगरपालिका– ११, रुकुमपश्चिमका सिर्जना ओली, भेरीगंगा नगरपालिका–८, सुर्खेतका करण बैगार, भेरी नगरपालिका–३, जाजरकोटका हरिहरसिंह राठौर र वीरेन्द्रनगर–१२, सुर्खेतस्थित ह्वाइट विङ्स प्रोडक्सन प्रालिलाई पनि पुरस्कृत गरिएको शाखा प्रमुख शाहीले जानकारी दिइन्। उनीहरुलाई जनही एक लाख प्रदान गरिएको छ।
हरेक वर्ष कर्णाली प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसार प्रवर्द्धन गर्नका लागि छोटो वृत्तचित्र निर्माण तथा सामाजिक सञ्जालका लागि उच्चस्तरको वृत्तचित्र निर्माण प्रतियोगिता आयोजना गरिँदै आएको छ।
यसका लागि चालु आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयले २० लाख विनियोजन गरेको थियो। छोटो वृत्तचित्र निर्माणतर्फ १७ र सामाजिक सञ्जालका लागि वृत्तचित्र निर्माणतर्फ १३ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ।