रुपन्देही। पाँचदलीय गठबन्धनले बुटवल उपमहानगरपालिकाको विकासका लागि चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ। बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी गठबन्धनमा रहेका दलहरुले संकल्प पत्र सार्वजनिक गरेका हुन्।
गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेलाई उमेदवार बनाइएको छ। संकल्पपत्रमा उपमहानगरबाट प्रवाह गरिने सेवालाई पेपरलेस बनाउँदै फास्ट ट्रयाक प्रणाली अवलम्बन गरिनेदेखि गुनासो सुन्नका लागि 'हेलो मेयर' डेक्स स्थापना गर्ने सम्मको कुराहरु उल्लेख गरिएको छ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, फोहोर व्यवस्थापन, रोजगारी सिर्जनाका कार्यक्रम सबै वडामा विस्तार गर्दै नगरलाई भ्रष्टाचारमुक्त बनाउने संकल्प उमेदवार पाण्डेले गरेका छन्। सबै वडामा दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने कुरा समेत संकल्प पत्रमा उल्लेख गरिएको छ। दुई वटा नगर अस्पताल निर्माण गर्ने, हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिने, वडा स्वास्थ्य केन्द्रमार्फत महिलाहरुका लागि निशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ।
नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकताअनुसार विकास एवं विस्तार गर्ने, झुम्साखोला खानेपानी परियोजना यथाशीघ्र सम्पन्न गराउन पहल गर्ने प्रतिबद्धता गरिएको छ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई एक वर्षभित्र अल्पकालीन बसोबास प्रमाणपूर्जा र दीर्घकालीन रुपमा राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने संकल्प गरिएको छ। बुटवलको फोहोर व्यवस्थापनमा ५ आर प्रणाली अवलम्बन गर्दै अन्य पालिकाहरु समेतको समन्वयमा अत्याधुनिक फोहोर र प्रशोधन केन्द्र स्थापना गर्ने, घरेलु फोहोर संकलनवापत लिइँदै आएको दस्तुर घटाउने घोषणा गरिएको छ।
संकल्पपत्रमा बुटवललाई पर्यटक विश्रामस्थलका रुपमा विकास गर्दै आर्थिक र पर्यटकीय नगरी बनाउने भनिएको छ। ऐतिहासिक जीतगढी किल्लाको संरक्षण तथा सम्बद्र्धन, आदिमानव रामापिथेकस पार्क, हिलपार्क, मणिमुकुन्द सेन पार्क, पिसपार्क, मिलनपार्क लगायत विभिन्न पार्कहरुको विस्तार तथा स्तरोन्नती गर्ने सेमलार र मोतीपुर क्षेत्रमा एम्युजमेन्ट पार्क निर्माण गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी संकल्पपत्रमा सिद्धार्थ राजमार्ग अन्तर्गत चौराहा चिडियाखोला सडकखण्डको धुलोधुँवा नियन्त्रण गर्दै तत्काल कालोपत्रेका लागि ठोस पहल गर्ने, तिनाउ–दानव कोरिडोर निर्माण कार्यलाई अघि बढाउन पीडित नागरिकका लागि बुटवल उपमहानगरभित्र जग्गा व्यवस्था गरी संघ र प्रदेश सरकारको सहयोगमा क्ष्तिपूर्ति सहित पुर्नस्थापना गर्ने योजना ल्याइएको छ।