कञ्चनपुर। महाकालीपारिको नगर दोधारा चाँदनीमा उम्मेदवार भोट माग्न जनताको घरदैलोमा छन्, मतदातालाई उम्मेदवारप्रतिका आशा सुनाइरहेका छन् । दोधारा चाँदनीलाई चुनावले छपक्कै छोपेको छ । स्थानीय सरकार बनेपछि गाउँमा छाएको विकासले आशावादी बनेका मतदाता फेरि सक्षम नेतृत्व चुन्न आतुर देखिन्छन् । महाकालीमा चार लेनको पक्की पुल र सुक्खा बन्दरगाह निर्माणको सपनाले उनीहरूमा आशा जगाएको छ ।
‘सबैले नेपाल भनेपछि पूर्वमा मेचीदेखि पश्चिममा महाकाली नदीसम्म ठान्छन्, हामी त महाकालीपारि छौं, पहिले–पहिले महाकालीपारि भएकै कारण हामीलाई नेपालले हेर्ने दृष्टिकोण अलग थियो,’ चाँदनीका तत्कालीन गाविस उपाध्यक्ष कृष्णविहारी पन्त (६७) भन्छन्, ‘संघीयताले हामीलाई महाकालीवारि नै सरकार दिएको छ, पहिले एउटा टापुका रूपमा रहेको गाउँमा अब विकास भित्रिएको महसुस हुँदै छ, चुनावमा त्यसैको उत्साह छ ।’ नगरका टोल–टोलसम्म पुग्ने अधिकांश सडक कालोपत्र भइसकेका छन् ।
चाँदनीमै सुक्खा बन्दरगाह निर्माणको योजना छ, त्यसैका लागि सरकारले महाकालीमा चार लेनको पक्की पुल बनाउँदै छ । उम्मेदवारहरूले चुनावमा सुक्खा बन्दरगाह निर्माणमा अगुवाइ लिने र दोधारामै हजारौंलाई रोजगारीको अवसर भित्र्याउने एजेन्डा अघि सारेका छन् । ‘यो बस्तीको नेपालपट्टि महाकाली छ, अर्कोपट्टि भारत, वास्तवमा यो एउटा टापु नै हो,’ नगरपालिकाका मेयर वीरबहादुर सुनार भन्छन्, ‘नदी पार गर्ने उपाय नहुँदा न उद्योग कलकारखाना खुलेका छन् न ठूला व्यवसाय । धेरै मान्छे रोजीरोटीका लागि भारत जान बाध्य छन् ।’
उनले रोजगारी नपाएर भारत जान बाध्य नगरवासीलाई सुक्खा बन्दरगाह खुलेपछि रोजगारीको अवसर मिल्ने अपेक्षा रहेको बताए । दोधाराको अर्को चुनावी एजेन्डा हो– नदीमा तटबन्ध । महाकालीपारिको यो नगरलाई भारतबाट बग्दै आएको जोगबुढा नदीले फेरि दुईतिर विभाजित गर्छ । जोगबुढा वारिपारि नै नेपाली बस्ती छन् । हरेक वर्षामा महाकाली र जोगबुढामा आउने बाढीले दुवैतिर दुःख दिन्छन् । ‘बस्तीका दुवैतिर नदी छन्, दुवैमा आउने बाढीले बर्सेनि दुःख दिन्छन्,’ मेयर सुनार भन्छन्, ‘महाकालीमा साढे दुई दशकअघि लगाएको तटबन्ध जीर्ण बन्दै छ, जोगबुढामा त तटबन्ध नै छैन ।’
जोगबुढापारि भारतीय सीमातर्फका कुतियाकभर, बडुवाल टोल, कञ्चनभोज र कुन्दननगरका बासिन्दाले यस पटकको चुनावमा तटबन्ध निर्माण गरिदिनुपर्ने माग अघि सारेका छन् । यी गाउँका बासिन्दा आफूहरू झन् सीमापारि भएको महसुस गर्छन् । कारण यी बस्तीसम्म नेपाली सुरक्षा संयन्त्रको पहुँच छैन न त अन्य कुनै सरकारी निकाय । सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले यी बस्तीतिर जाने जोगबुढाका झोलुंगे पुलसम्म मात्रै रेखदेख गर्छ । ‘बस्तीमा जाँदा वरपर डुल्नुपर्छ, रेखदेख गर्न गाह्रो हुन्छ, पुलमा बसे वारिपारि हुने तस्करी र निकासी पैठारीको नियमन गर्न सकिन्छ,’ चर्को घाममा पुलमुनि बसेर सुरक्षा गरिरहेका जवान गगन थापामगरले भने ।
जोगबुढाको कुतियाकभर पुलपारि ३६ घर छन् । केही क्षत्री, ब्राह्मण र अधिक दलित समुदायको बसोबास रहेको यो क्षेत्र गत कात्तिकमा मात्रै डुबानमा परेको थियो । ‘ऊ त्यहाँ आँगनको डिलसम्म नेपाल हो, त्यहाँदेखि उता भारत,’ आँगनमा शीतल ताप्दै बसेका नरबहादुर सुनार (६१) ले भने, ‘हामी नेपालको सिमानामा छौं तर आफ्नाले पराई ठान्छन्, बरु पराईको सहयोगले बाँचेका छौं ।’ गाउँमा बाढी पसेपछि आफूहरू भारतीयको सहयोगमा बाँचेको उनी बताउँछन् । ‘नेपालबाट आठ दिनसम्म चाउचाउ समेत आएन, त्यो बेला हामीलाई भारतीयले नै खुवाए, बचाए,’ सुनारले भने, ‘देश फरक हो तर वारिपारिका मान्छेहरूको सम्बन्ध सुमधुर छ ।’ वारिकाले पारि खेती गर्छन्, पारिकाले वारि । अहिले त बिहेवारीसमेत हुन थालेको छ ।’
दोधारा चाँदनी–१० मा रहेको यो बस्तीमा नेपाल सरकारको उपस्थिति शून्य छ । न स्कुल छ न स्वास्थ्य चौकी । बरु यहाँका नागरिकको जीवन नै भारतीयसँग निर्भर छ तर यहाँका मतदातालाई अझै पनि नेपालप्रति आशा छ । यहाँका घरैपिच्छे दलका झन्डा र पार्टीका उम्मेदवारका पर्चा टाँगिएका छन् । ‘चुनाव आयो भनेर नेताहरू आए । हामीले कम्तीमा आफ्ना समस्या सुनाउन पाएका छौं,’ सुनारले भने, ‘हामीसँग जमिन छ, लालपुर्जा छैन । बाढीले बगाएपछि बल्ल–बल्ल ३५ हजार लगाएर यो छाप्रो बनाएको छु, अब के खाने, के लाउने समस्या छ ।’
उनले आफूहरू मतदान गर्न आतुर रहेको बताए । ‘हाम्रो भूमि नेपाली हो, नागरिकता नेपाली हो, हाम्रो सरकारले हामीलाई देख्दैन तर हामी अधिकारको उपयोग गर्न आतुर छौं,’ उनले भने । अघिल्लो चुनावमा पनि आफूहरूले उत्साहसहित भोट हालेको उनले बताए । ‘नेताहरू हिलोबाट हिँडेरै आए, हामीले पुल राखिदिन भन्यौं, जोगबुढाको झोलुंगे पुल त्यसपछि बनेको हो,’ उनले भने, ‘अहिले पनि भोट दिन्छौं, नेताहरूलाई समस्या सुनाउँछौं ।’
सुनारका अनुसार यस पटक सिंगो गाउँको माग हो– जोगबुढामा तटबन्ध निर्माण । ‘यो वर्ष हामीले ठूलो क्षति बेहोर्नुपर्यो । हामी भोट हाल्छौं तर तुरुन्तै तटबन्ध बनेन भने अर्को चुनावमा तपाईं–हाम्रो भेट नहुन सक्छ भनेका छौं,’ उनले भने । स्थानीय खड्के बुढाले तटबन्ध निर्माण गर्ने प्रतिबद्धता दिनेलाई मतदान गर्ने बताए । ‘हामीलाई पार्टीसँग धेरै सरोकार छैन, हाम्रो माग केन्द्रमा राखेर जसले गर्न सक्छ, उसलाई मतदान गर्छौं,’ उनले भने ।
कुतियाकभरबाट कुनै पनि दलले उम्मेदवार बनाएका छैनन् । कसैले मौका नदिएपछि स्थानीय मोतीराम सुनारले स्वतन्त्र रूपमा वडा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
कुतियाकभर भारत उत्तरप्रदेशको बंगाली बस्तीसँग जोडिएको छ । जोगबुढा नदीमा झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई आउजाउमा सहज भएको छ । त्यसअघि यहाँका स्थानीयले हिउँद र बर्खामा डुंगाको प्रयोग गरेर नदी तर्नुपर्ने बाध्यता थियो । ‘महाकालीपारिका एकखाले दुःख छन्, त्यसमाथि जोगबुढापारिका झन् अरू दुःख छन्,’ मेयर सुनारले कान्तिपुरसँग भने, ‘दोधारा चाँदनी नै अर्को देश जस्तै छ । जोगबुढापारिका बस्ती झन् बिराना ।’
उनले जनजीवन नै भारतबाट चलेकाले दोधारा चाँदनीको नेपाल प्रेम विगतभन्दा बढ्दो रहेको बताए । ‘एउटै घरबाट २–३ जनासम्म मान्छेहरू भारत गएका छन् । उतैको कमाइले यहाँको जनजीवन चलेको छ,’ उनले भने, ‘हिजो हामीले मोटरसाइकलमा इँटा बोकेर घर बनाएर बसाएको बस्ती हो । त्यसैले नेपालप्रतिको मोह भने घटेको छैन, बरु बढ्दो छ ।’ दोधारा चाँदनीमा बस्ती विकासको मोडेल अघि सार्ने उनी दुई दशकअघि र अहिलेमा सरकारले महाकालीपारिलाई हेर्ने दृष्टिकोण अलग भएको बताउँछन् । ‘महाकालीवारि र पारिको सरकारमा धर्ती–आकाशको अन्तर छ । हिजो हामीलाई हेर्ने नजर नै विभेदकारी थियो, महाकालीपारिका यिनीहरू नेपाली नै होइनन् भनेझैं व्यवहार गर्थे,’ उनले भने, ‘हामी नेपाली भूगोल जोगाएर बस्न छाडेनौं । अहिले बल्ल सोच बदलिँदो छ ।’
नगरवासीले महाकाली नदीको समेत तटबन्ध मर्मतसम्भारको माग गरिरहेका छन् । दोधारा चाँदनी–४ का यामबहादुर थापामगरले भोट माग्न आउनेलाई तटबन्ध निर्माणको प्रतिबद्धता मागेको बताए । ‘अहिले स्थानीय सरकार बलियो छ, वास्तवमा संघीयतापछि हामीले महाकालीवारि नै आफ्नै सरकार पाएका छौं, यो पाँच वर्षमा धेरै परिवर्तनको महसुस भएको छ,’ उनले भने, ‘यहाँ भएको पूर्वाधार विकासकै कारण छोडेर हिँड्ने मान्छेको संख्या घटेको छ । यसलाई अझै बढाउन महाकालीमा तटबन्ध छिटो व्यवस्थित गर्नुपर्नेछ ।’ उनले तटबन्ध जहाँसुकैबाट फुट्न सक्ने र सिंगो नगर नै बगाउन सक्ने त्रास रहेको बताए । ‘२०३९ सालमा त्यस्तै भयो, त्यो बेला सिंगो बस्ती उजाडियो, करिब २ सय परिवारले ठाउँ नै छोडे,’ २०२० सालतिर बस्ती बसेको दाबी गर्दै उनले भने, ‘अब हाम्रो भविष्य सुरक्षित बनाउन नदीलाई पुज्नुपर्छ । तटबन्ध बनाएर जस्तोसुकै वर्षाको पनि पूर्वतयारी हुनुपर्छ ।’
२०३९ सालको बाढीपछि महाकालीले बर्सेनि दुःख दिएको गुनासो गरेका स्थानीयवासीलाई जाइकाको सहयोगमा सरकारले तटबन्ध लगाएर आश्वस्त पारेको थियो । त्यसयता अधिकांश वडामा बाढीको त्रास छैन तर भारततर्फबाट बगेर आउने जोगबुढालाई महाकालीलाई थुनेपछि हुने डुबानले वडा नं। ७, ९ र १० मा बर्सेनि धनजनको क्षति हुने गरेको छ ।
एमाले–कांग्रेस प्रतिस्पर्धा
दोधारा चाँदनीमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा छ । अध्यक्ष पदमा कांग्रेसबाट गोपालदत्त भट्ट र एमालेबाट किशोर लिम्बूले उम्मेदवारी दिएका छन् । लामो समयदेखि राजनीति गर्दै आएका भट्ट हाल कांग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामन्त्री हुन् भने लिम्बू गाउँको स्कुल सञ्चालक हुन् । उनी एमालेको नगर अध्यक्षसमेत हुन् । सुक्खा बन्दरगाह, तटबन्ध निर्माण, लालपुर्जा वितरण, शिक्षा र स्वास्थ्य पूर्वाधारमा सुधारलगायत उम्मेदवारका साझा एजेन्डा छन् । एमाले उम्मेदवार लिम्बूले सीमा क्षेत्रमा भारतीय नागरिकले गर्ने लागूऔषध कारोबार र मानव बेचबिखन जस्ता समस्याको समाधान गर्ने बताए । ‘भारतीय दिउँसै नेपाल आएर जाँडरक्सी पिउँछन् र फटाई गरेर भाग्छन्, त्यसले नेपालको समाजमा विकृति फैलिएको छ,’ उनले भने, ‘म त्यसलाई सुधार्न कूटनीतिक पहल र सीमा व्यवस्थापनमा काम गर्ने एजेन्डा लिएर जनतामाझ गएको छु ।’
कांग्रेस उम्मेदवार भट्टले पनि सीमा व्यवस्थापनमा जोड दिनुपर्ने अवस्था रहेको बताए । उनले छाडा चौपाया व्यवस्थापनलाई समेत मुख्य एजेन्डामा राखेको बताए । ‘यहाँ अधिकांश किसान परिवार छन्, सबैलाई छाडा चौपायाले अत्यन्तै दुःख दिएको अवस्था छ,’ उनले भने, ‘मैले छाडा चौपाया व्यवस्थापनलाई समेत मुख्य एजेन्डाका रूपमा जनतामाझ लगेको छु ।’ १० वडा रहेको महाकालीपारिको यो नगरमा ७३९२ घरधुरी बस्छन् । अहिले यहाँको जनसंख्या करिब ६० हजार छ ।
आजको कान्तिपुर दैनिकबाट