काठमाडौं। पार्किङको समस्या समाधानका लागि नेपालका केही स्थानमा मेकानिकल पार्किङ निर्माणको प्रक्रिया अगाडि बढेको छ। नगर विकास कोषले ल्याएको यो परियोजना निर्माणको प्रक्रिया केही ठाउँमा अगाडि बढेको हो।
उपत्यकामा थापाथलीमा निर्माण प्रक्रिया अगाडि बढाइएको छ। त्यसैगरी उपत्यका बाहिर बुटवल र बनेपामा पार्किङ निर्माणको परियोजना अगाडि बढेको छ।
अव्यवस्थित पार्किङको समस्या समाधान व्यवस्थापन गर्न कोषले दुई महिना अगाडि सार्वजनिक आब्हान गरेको थियो। यो परियोजनामा इच्छुक धेरै देखिएपनि पार्किङ निर्माणको लागि भने केही नगरपालिका र सार्वजनिक संस्थान तयार रहेका कोषले जनाएको छ।
कोषले उपत्यकाका ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणका लागि आवेदन आह्वान गरेको थियो। थापाथली, न्युरोड, कोटेश्वर, बानेश्वर, चाबहिल लगायतका क्षेत्रमा निर्माण हुने पार्किङका लागि कोषले ९० प्रतिशतसम्म ऋण उपलब्ध गराउन सक्ने बताएको छ।
यो परियोजनामा आवेदन दिने ६ वटा कम्पनी छन्। उपत्यकाबाट आवेदन आएकाहरुले भने जग्गाको कागजपत्र उपलब्ध गराउन सकेका छैनन्।
त्यही भएर कोषले तत्कालको लागि उपत्यका बाहिरका दुई वटा बनेपा नगरपालिका र बुटवल उपमहानगरपालिका रुपन्देहीमा मात्र बहुलते मेकानिकल पार्किङ निर्माणको लागि प्रक्रिया अगाडि बढाएको छ।
कोषका अनुसार हाल बुटवल र बनेपामा मात्र मल्टिलियर मेकानिकल पार्किङ निर्माणको लागि संभाव्यता अध्ययनको प्रक्रिया थालेको छ। संभाव्यता अध्ययनको लागि परामर्शदाता छनोट भइसकेको पनि कोषले बताएको।
काठमाडौं उपत्यकामा निर्माणका लागि प्रक्रिया बढाउन लागिएको भनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा हो। यो संस्थानले दुई रोपनी क्षेत्रफलमा पार्किङ निर्माण गर्ने प्रस्ताव गरेको थियो।