काठमाडौं। बर्दिबास नगरपालिकामा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। निर्वाचनमा विजयी भए आगामी पाँच वर्षसम्म गर्ने कामहरु र प्रतिबद्धतासहित माओवादी नगरकमिटिले घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा नगरपालिकालाई धुलाम्य सडकबाट मुक्त बनाइ वार्षिक १५ किलोमिटर सडकलाई पक्की बनाउने उल्लेख गरिएको छ। त्यसैगरी सबै सडक घटीमा ४ मिटरको हुनुपर्ने तथा आवश्यक ठाउँमा फ्लाइओभर र अन्डरपास निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा युवा स्वरोजगारीलाई मुख्य प्राथमिकता दिइने तथा वार्षिक ५ सय भन्दा बढी युवालाई नगरभित्रै रोजगार सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यसैगरी नगरवासीलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा योजनालाई गतिशील बनाउने, सुविधा सम्पन्न सर्पदंस उपचार केन्द्र, एक वडा एक योग ध्यान केन्द्र, विपन्न र दिर्घरोगीहरुको लागि नगर स्वास्थ्य कोष स्थापना गर्नुका साथै बर्दिबासमा १ सय शय्याको सुविधा सम्पन्न आधुनिक अस्पताल निर्माण गर्ने माओवादीले घोषणा गरेको छ।
आधिकारिक स्वामित्वको आधारमा लालपुर्जा वितरण, कृषिलाई नगरको समृद्धिको आधार बनाउनुका साथै वास्तविक किसानलाई परिचयपत्र वितरण, आधुनिक गोठ, खोर तथा पशुपालनमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिने पनि माओवादी केन्द्रले नीति लिएको छ ।
खानेपानीको अभाव हुन नदिने र नगरको दीर्घकालीन खानेपानीको समस्यालाई मुक्त बनाउन मरिन खोलाको पानी ल्याउन १० प्रतिशत काम सकिसकेको घोषणापत्रमा उल्लेख छ। त्यसैगरी माओवादी केन्द्रले डिजिटल बजारदेखि अत्याधुनिक बजार व्यवस्थापन गर्ने समेत बताएको छ।