काठमाडौं। अमेरिकाले नेपाललाई करिब ८० अर्ब बराबरको अनुदान सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
बिहीबार अन्तराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
अमेरिकाले नेपालको विकासका लागि ७९ अर्ब ७१ करोड रुपैयाँ (६५९ मिलियन डलर) बराबरको अनुदान सहयोग गर्ने भएको हो। अमेरिकाले नेपाललाई ५ वर्षका लागि मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन सो अनुदान सहयोग गर्न लागेको हो।
यूएसएआईडीले गर्ने सहयोगलाई ३० चैतमा बसेको मन्त्रिपरिषदको बैठकले स्वीकार गर्ने निर्णय गरेको थियो।
अमेरिकाले गर्न लागेको यो दोस्रो ठूलो अनुदान सहयोग नेपालले सन् २०२२ देखि २०२७ सम्मका योजनामा खर्च गर्नेछ। अमेरिकाले नेपाललाई दिने यो अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भन्दा ठूलो हो।
एमसीसीभन्दा यूएसएआईडीले गर्ने सहयोग १५१ मिलियन डलर बढी हो। अमेरिकाले विद्युत प्रसारण लाइन र सडकको स्तरोन्नतीका लागि एमसीसीमार्फत ५०० मिलियन डलर अनुदान सहयोग गर्ने भएको छ। लामो राजनीतिक विवादका बीच चेपालले एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गरेको थियो।
उर्जा र सडक पूर्वाधार विकासका लागि भनिएको एमसीसी अनुदान एमसीए र नेपाल सरकारबीच २९ भदौ २०७४ मा सम्झौता भएको थियो।
अर्थ मन्त्रालयका अनुसार यो अनुदान सहयोग गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो उर्जा र कृषि विकासमा उपयोग गरिनेछ। यस्तै सहायता रकमलाई सरकारको बजेट प्रणालीमा अभिलेख गरेर पारदर्शी रुपमा कार्यान्वयन गरिनेछ। ५ वर्षसम्म चल्ने यस सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यका बृहत विकास क्षेत्रहरु समेट्ने बताइएको छ।