फाइल तस्बिर
काठमाडौं। सुदूरपश्चिम प्रदेशमा २ अर्ब ६४ करोड लागतमा पहिलो केबलकार परियोजना बन्ने भएको छ। कैलाली जिल्लाको लम्किचुहा नगरपालिका–१३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका–७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी जलपादेवी केबलकार प्रालिले केवलकार बनाउन लागेको हो।
यो कबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम पूरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ।
माथिल्लो स्टेसनबाट २५० मिटरको दूरीमा जालपादेवी मन्दिर रहेका कारण यो भेगमा पर्यटकीय सम्भावना रहेको भन्दै आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जालपादेवी मन्दिर, कालभैरव मन्दिर, कालिका देवी मन्दिर, कैलाशधाम तिर्थस्थल, हात्तिढुंगालगायत क्षेत्र यस आयोजनाको आसपास छन् ।
आयोजनाले गरेको प्रस्ताव अनुसार केबलकारको लम्बाई ३.१ किलोमिटर हुने छ । कुल ३४ वटा बक्स रहने यस केबलकारको एक बक्समा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्ने गरी प्रस्ताव गरिएको छ । केबलकारले प्रतिदिन ६ हजार मानिसलाई ओसार्न सक्ने छ । केबलकारको गति ६ मिटर प्रतिसेकेण्ड रहने गरी प्रस्ताव गरिएको छ । तल्लो स्टेशनबाट माथिल्लो स्टेसन पुग्ने अधिकतम १० मिनेट समय लाग्ने छ ।
केबलकार परियोजना संचालनमा आएपछि होटेलमा २५० र केबलकारमा ९० जनाले रोजगारी पाउने आयोजनाको अनुमान छ ।
आयोजनाका अनुसार केबलकार र होटेलसमेत गरि कुल २ अर्ब ६३ करोड २२ लाख २४ हजार ५ सय रुपैयाँ लागतमा परियोजना सम्पन्न हुनेछ । केबलकारका लागि १ अर्ब ४ करोड ५० लाख रुपैयाँ लगानी अनुमान गरिएको छ । अन्य लगानी भने होटेल र थप संरचना निर्माणमा लाग्ने अनुमान छ ।