काठमाडौं। बूढानीलकण्ठ–१२ स्थित सुकुम्बासी वस्ती (आनन्दटोल)का ६३ वर्षीय मङ्गल कोइराला (विश्वकर्मा)का आँखा अहिले पनि रसाइरहेका छन्। उनकी श्रीमती धनमाया विश्वकर्मा पनि नातिलाई सम्झिँदै भक्कानिन्छीन्।
२०७८ असोज ५ गते मङ्गलबारदेखि विश्वकर्मा दम्पतीको दिन र रात नरोई बितेको छैन। गत वर्ष असोज ५ गते साँझ ११ वर्षीय उज्ज्वल विश्वकर्मालाई बूढानीलकण्ठ–१२, मिलनचोकमा निर्माणाधीन नालामा आएको पानीले बगायो।
नालामा बेपत्ता भएको पाँच दिनपछि असोज १० गते आइतबार उज्ज्वलको शव ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती किनारमा भेटिएको थियो। छोरो अनिल कोइराला (विश्वकर्मा) ‘सम्पर्कविहीन’ भएको तीन वर्षपछि उनीहरूले नाति पनि गुमाउनुपरेको थियो। यस्तो समस्या गत वर्षको मात्र होइन, २०६७ देखि नै सडकका नाला निर्माण प्रक्रिया सुरु भएको हो तर ज्यानै जाने दुर्घटनामा ११ वर्षीय बालकको दुःखद निधन भयो। त्यसपछि फेरि वर्षा सुरु हुन थाल्दा पनि निर्माण सकिएको छैन।
उज्ज्वलका हजुरबुवा मङ्गलले भने, “सडकबाटै ढल बगेको छ। मेरा नातिजस्ता धेरै बालबालिका त्यही बाटोबाट हिँड्छन्। हामीले त ठूलो चोट भोग्यौँ–भोग्यौँ, अब अरूलाई त्यस्तो नहोस्।” उनका अनुसार धेरै वर्षदेखि मिलनचोकमा ‘ज्यानमारा’ सडक छ। सम्बन्धित निकायको ढिलासुस्तीले नाला निर्माणमा ढिलाइ भएको गुनासो उनले गरे।
काठमाडौँ महानगरपालिका–६ को सीमा जोडिएको मिलनचोकमा तरकारी बजार छ। बिहान–साँझ सर्वसाधारणको भीड हुन्छ तर पानी परेको दिन मिलनचोककै स्थानीयवासी र व्यवसायी पनि बाहिर निस्किन डराउँछन्। कारण सडक र नाला एउटै हुनु र त्यो पनि निर्माण नसकिनु हो।
'सडक बनाउन ठेकेदारले नाला खनेका छन्। पानी परेका बेला घरका पेटीबाट हिँड्नुपर्छ। अलिकति खुट्टा चिप्लियो भने बाँच्ने आसै हुँदैन।'
जल तथा मौसम विभागले यस वर्षको मनसुन जेठको मध्यदेखि नेपाल भित्रिने पूर्वानुमान गरेको छ। पूर्वमनुसनले नै राजधानीका विभिन्न क्षेत्र डुबाउन थालिसकेको छ। त्यसको त्रास स्थानीयवासीमा परेको छ। स्थानीय प्रभुनाथ बास्तोलाले भन्नुभयो, “सडक बनाउन ठेकेदारले नाला खनेका छन्। पानी परेका बेला घरका पेटीबाट हिँड्नुपर्छ। अलिकति खुट्टा चिप्लियो भने बाँच्ने आसै हुँदैन।”
बास्तोलाका अनुसार पानी नपरेका बेला पनि स्थानीयवासीका घरबाट निस्किने पानी सिधै ढलमा आउँदा पानी जम्ने गर्छ। उनको जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नुपर्ने माग छ ।चार वर्षमा १७ मिटर १बागमती प्रदेश सरकारअन्तर्गत खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले मिलनचोकको नाला निर्माणका लागि ठेक्का दिएको हो। चालू आर्थिक वर्ष २०७८/७९ का लागि काठमाडौँको थापाथलीस्थित ‘एम।एम दी सुप्रिम निर्माण सेवा प्रालि’ले मिलनचोकको ४१ मिटर नाला निर्माणका लागि ४९ लाख ११ हजार ६७२ रुपियाँको ठेक्का पाएको छ। ‘खहरेखोलामा आरसीसी स्लाब कल्भर्ट निर्माण कार्य’ नाम दिएको उक्त परियोजना २०७८ मङ्सिरमा सुरु भई २०७९ वैशाख १५ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय काठमाडौँका डिभिजन प्रमुख रिसव खनालले सम्झौताअनुसार काम सम्पन्न नभएको बताए। उनले नाला निर्माण पूरा गर्न जेठ १४ गतेसम्मको समय दिइएको बताउनुभयो । प्रमुख खनालले भने, “मिलनचोकको सडक अस्तव्यस्त छ। यो कुरामा म गम्भीर छु। वर्षा सुरु हुनुअघि नै बाटो बन्नुपर्छ भन्नेमा म प्रस्ट छु। त्यसैले ठेकेदारलाई जेठ १४ गतेभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको छु।”
उनले थपिएको समयमा पनि नाला निर्माण सम्पन्न नभए ठेक्का पाएको कम्पनीलाई कारबाही गर्ने बताए। उनले भने, “जेठ १५ गते काम नसकिएमा हामी एक दिन पनि पर्खिंदैनौँ। कानुनबमोजिम कारबाही सुरु हुन्छ।”प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ मा मिलनचोक जोड्ने सडकमा नाला (ड्रेन) निर्माणका लागि ७० लाख रुपियाँ र २०७७/७८ मा ७५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो।
डिभिजन प्रमुख खनालका अनुसार उक्त बजेट मिलनचोकलाई जोड्ने ९५ मिटर ढल निर्माण गरिएको छ। चालू आवमा ४१ मिटर सडक निर्माण गर्नका लागि ठेक्का दिइएको भए पनि वैशाख २२ गतेसम्म १७ मिटर नाला निर्माण सकिएको छ। ठेकेदार नवराज पौडेलले १५ मिटर नाला निर्माणका लागि दुईतर्फबाट ढलान कार्य भइरहेको बताउनुभयो। उहाँका अनुसार ३.८ मिटर चौडाइ र २.३ मिटर उचाइ रहने गरी नाला निर्माण भइरहेको बताए।
उनले भने, “प्राविधिक कारणले निर्माणमा ढिलाइ भएको हो तर ७० प्रतिशत काम सकिएको छ। अब नौ मिटर नाला ढलान गर्न बाँकी छ। जेठ १५ गतेभन्दा अगाडि नै निर्माण सम्पन्न हुन्छ।” जेठदेखि पानी पर्न थाल्ने भएकाले काम सक्न तीव्र गतिमा काम गरिरहेको उनको दाबी छ। आजनको गोरखापत्र दैनिकबाट