काठमाडौं। सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको हुलाक प्रशिक्षण केन्द्रको भूकम्पले क्षतिग्रस्त भवन वर्षौँदेखि पुनः निर्माण हुन सकेको छैन ।
भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको थियो। भूकम्पपछि त भवनका धेरै संरचना क्षतविक्षत भएका छन्। भूकम्पले पूर्णरुपमा क्षति पुगेको भवन कोरोना महामारी अघि नै बनाउने तयारी भएको थियो। तर महामारीका कारण केन्द्रको भवन निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन । भवन भूकम्पले क्षतिग्रस्त भएपछि हाल कार्यालय परिसरमा प्रिफ्याबको संरचना निर्माण गरेर काम चलाइएको केन्द्रका मुख्य प्रशिक्षक सविता कार्कीले बताइन् ।
भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणको छ वर्षे कार्यकालमा समेत केन्द्रको भवन प्राथमिकतामा पर्न सकेन । प्राधिकरणले गत पुसमै छ वर्षे कार्यकाल पूरा गरी विघटन भइसकेको छ । प्राधिकरण विघटन भएपछि यस्ता भवनको निर्माण गर्ने जिम्मेवारी पाएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ पनि सँगै जोडिएको विभाग परिसरमै रहेको छ । तर पनि अझै केन्द्रको क्षतिग्रस्त भवन बन्ने नबन्ने निश्चित छैन ।
केन्द्रको जग्गालाई नेपाल प्रहरीलगायत विभिन्न निकायले माग गरेका कारण पनि भवन पुनःनिर्माणमा ढिलाइ भएको बताइएको छ । सिंहदरबारअगाडि बबरमहलको मुख्य सडकमा चार रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा अन्य सरकारी निकायले पनि माग गरेका कारण पनि सरकारले बजेट विनियोजनमा ढिलाइ गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतकै नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो जग्गा माग गरेको केन्द्रका प्रशिक्षक प्रदीपमणि शर्मा चौलागाईंले बताए ।
भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगको आयोजना बैंकसँग रु ६९ करोड माग गरिएको छ । आयोगको प्रक्रिया पूरा गरी बजेट मागको कागजात अर्थ मन्त्रालय जाने क्रममा रहेको जनाइएको छ । भूमिगत पार्किङसहित सात तले भवनका लागि माटो परीक्षण र ड्रइङ, डिजाइनको काम पनि सकिएको छ । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा यो भवन निर्माणले प्राथमिकता पाउने आशमा यहाँ कार्यरत कर्मचारी रहेका छन् ।
केन्द्रले हुलाक सेवामा रहेका स्थायी कर्मचारीलाई सेवाकालीन तालीम दिन्छ । केन्द्रका लागि विसं २०२२ मा बबरशमशेर राणासँग बबरमहलको चार रोपनी १२ आना जग्गा किनिएको हो । जग्गासँगै रहेको राणाकालीन भवनमा केन्द्र सञ्चालन हुँदै आएको छ । १०० वर्षभन्दा पुरानो भवन भएकाले यस विषयमा पुरातत्व विभागले पनि अध्ययन गरेर पुनः निर्माणको अनुमति दिएको केन्द्रले जनाएको छ ।
राणाकालीन यो दरबार ‘एनइओ क्लासिकल’ प्रकारको हो । अब बन्दा भने यस्तै भवन नबन्ने सहरी विकास तथा भवन निर्माण विभागका इञ्जिनीयर निशा केसीले बताइन् । अब भने यो भवन आधुनिक र ‘न्यू क्लासिकल’ स्वरूपमा बन्ने गरी डिजाइन गरिएको उनले सुनाइन् ।
प्रशिक्षण केन्द्र भवनको ऐतिहासिकता
पुरानो भवन कहिले बनेको भन्ने स्पष्ट नभए पनि भत्किएका इँटामा विसं १९८० लेखिएको भेटिएको केन्द्रकी पूर्वमुख्य प्रशिक्षक सीता रेग्मीले बताइन् । विसं २०१९ मङ्सिर १ गते स्थापना भएको केन्द्र सुरुमा कमलपोखरीमा भाडाको घरमा बसेको थियो ।
राणाकालमा चन्द्रशमशेरले घोडा तबेलाका रुपमा प्रयोग गरेको यो भवनमा विसं २०२२ फागुन ९ गतेदेखि प्रशिक्षण केन्द्र सञ्चालन भएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्प अघि नै भवन जीर्ण भई बनाउने प्रस्ताव केन्द्रले गरेको थियो । २०७० सालमा नयाँ भवन बनाउन माटो परीक्षणसमेत भएको थियो ।
भूकम्पले पूर्णरुपमा क्षति भएको सात वर्ष बित्दा पनि भवन बनाउन कसैको ध्यान जान सकेन । प्रशिक्षार्थीका लागि कम्प्युटर प्रयोगशालासहित पुस्तकालयसमेत रहेको तीनतले १५ कोठे भवन जीर्ण भएपछि हाल केन्द्र प्रिफ्याब भवनमा सञ्चालन भइरहेको छ । भूकम्पले भवन पूर्णरुपमा क्षति भएपछि अस्थायी भवनमा कार्यालय सञ्चालन गर्न बाध्य हुनुपरेको मुख्य प्रशिक्षक कार्कीले बताए ।
भवनमा स्थान अभावका कारण हुलाक र समसामयिक विषयका महत्वपूर्ण पुस्तक रहेको पुस्तकालय बन्द छ । सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको भए पनि जीर्ण भएको दशकौँसम्म यो भवन बन्न सकेको छैन । सेवाग्राही नजाने, हुलाकमा कार्यरत कर्मचारी तालिम लिने प्रयोजनका लागि मात्र छिर्ने भएकाले यसप्रति कसैको चासो नगएको हो ।
केन्द्रको भवन बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने प्राथमिकताका साथ काम अघि बढाएको छ । भवन निर्माण भएपछि यसलाई बहु सेवा केन्द्रका रुपमा सञ्चालन गर्ने सोच मन्त्रालयले बनाएको छ ।
हुलाक सेवा विभाग, सूचना प्रविधि विभागलगायत कार्यालय नयाँ बन्ने भवनमा रहनेबारेमा हाल छलफल चलिरहेको जनाइएको छ ।