काठमाडौं। भारतको कब्जामा रहेको नेपाली भूमि कालापानीनजिकैको बस्ती तिंकरका दानसिंह तिंकरीलाई अब निर्वाचित भएर आउने वडाध्यक्षले छाङरु र आफ्नो गाउँसम्म पुग्ने गोरेटो बनाइदिए हुन्थ्यो भन्ने लागेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिंकरमा नेपालकै भूमि भएर जाने बाटो नभएका कारण स्थानीयलाई समस्या हुने गरेको छ। भारतीय बाटोबाट आउजाउ गर्नु त्यहाँका बासिन्दाको बाध्यता हो।
‘हामीलाई नेपालकै बाटो भएर आफ्नो गाउँ र जिल्ला सदरमुकाम आउजाउ गर्ने बाटो चाहिएको छ,’ छाङरुका वासुदेव सिंह ऐतवालले भने, ‘छाङरु र तिंकरमा मंसिरदेखि वैशाखसम्म जाडो हुन्छ। त्यतिबेला हामी त्यो ठाउँ छाडेर भारतीय बाटो हुँदै जिल्ला सदरमुकाम खलंगामा बसाइँ सर्छौं र वैशाखपछि कात्तिकसम्म फर्कन्छौं।’ ६ महिना खलंगा र ६ महिना छाङरु–तिंकर आउजाउ गर्न भारतीय भूमि प्रयोग गर्नुपर्छ, नेपालतर्फ बाटो नै छैन। सुरक्षितसाथ आफ्नै भूमि भएर खलंगा आउजाउ गर्ने गोरेटो बनाइदिने उम्मेदवारलाई यसपालिको स्थानीय चुनावमा भोट हाल्ने उनले बताए।
छाङरु र तिंकरमा शौका जातिको बसोबास छ। ६ महिना अत्यधिक जाडो हुने भएकाले त्यहाँका स्थानीय सदरमुकाम खलंगामा बसाइँ सर्छन्। वैशाखमा बसाइँ सरेर कात्तिकमा मात्र फर्कने उनीहरू स्थानीय तहको निर्वाचनकै लागि भेडाबाख्रा, गाईबस्तु लिएर सपरिवार फर्कन थालेका छन्। उनीहरूले छाङरु र तिंकर फर्कन भारतको बाटो प्रयोग गर्नुपर्ने भएकाले त्यसका लागि भारतीय प्रशासनको अनुमतिपत्र लिनुपर्ने हुन्छ। ‘आफ्नै गाउँघर जान पनि भारतीय बाटो हिँड्नुपर्ने हुन्छ,’ ऐतवालले भने, ‘त्यही भएर पनि यसपालि हामी नेपालकै बाटो भएर सदरमुकाम जोड्ने गोरेटो बाटो जसले बनाइदिन्छ, उसैलाई भोट हाल्छौं।’
स्वदेशी बाटोबाटै सदरमुकाम खलंगा आउजाउ गर्न चाहने वडावासीको मागप्रति आफूहरू गम्भीर रहेको त्यहाँका उम्मेदवारले बताएका छन्। स्थानीयको आग्रहअनुसार नै आपूmले पनि सदरमुकामदेखि छाङरु र तिंकर जोड्ने गोरेटो बनाउने योजना बनाएको कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार शंकरसिंह ऐतवालले बताए। ‘यहाँको पहिलो आवश्यकता भनेकै सदरमुकाम आउजाउ गर्न आफ्नै भूमि भएर हिँड्न पाउने बाटो बनाउने हो।
त्यही भएर बाह्रै महिना चल्ने गोरेटो बाटोको परिकल्पना गरेको छु,’ उनले भने, ‘मैले वडाध्यक्षमा जिते भने बाटोका साथै स्वास्थ्य चौकीमा पर्याप्त औषधि र माध्यमिक तहको विद्यालय सञ्चालन पहिलो प्राथमिकतामा राखेको छु।’ दुवै गाउँमा आधारभूत तहसम्म मात्रै विद्यालय छन्। त्यसभन्दा माथिल्लो तहमा पढाउनुपर्दा बाहिर पठाउनुपर्छ।
ऐतवालजस्तै एमालेबाट वडाध्यक्षका उम्मेदवार अशोकसिंह बोहराले पनि बाह्रै महिना गाउँबाट सदरमुकाम खलंगा ओहोरदोहोर गर्न सकिने बाटो बनाउने योजना रहेको सुनाए। उनले भने, ‘यसअघि पनि बाटो थियो तर कम बजेटका कारण राम्रो हुन सकेको थिएन। अब त्यो बाटोलाई सधैंभरि चल्ने बनाउँछु।’ हरेक वर्षात्मा पहिरो र हिउँदमा हिमपहिरोले तिंकर र छाङरुको गोरेटो अवरुद्ध हुँदै आएको छ।
जसका कारण स्थानीयले भारतीय बाटो भएर सदरमुकामा आउजाउ गर्नुपरेको हो। छाङरु र तिंकर वडा नम्बर १ मा पर्छन्। त्यही वडामा पर्ने गुन्जी, नावी र कुटी गाउँ भारतको नियन्त्रणमा छन्। ती गाउँ नेपालको नयाँ नक्सामा समेटिए पनि नेपालको प्रशासनिक अधिकार कायम हुन नसक्दा त्यहाँ स्थानीय तहको निर्वाचन हुन सक्ने अवस्था छैन। त्यही भएर वडा १ मा पर्ने छाङरु र तिंकरमा मात्रै दुईवटा मतदान केन्द्र राखिएको छ।
छाङरुमा ३ सय ७५ जना र तिंकरमा २ सय ३१ जना गरी ६ सय ६ जना मतदाता छन्। निर्वाचन आयोगले छाङरुको कैलाशपति आधारभूत विद्यालय र तिंकरको मोती महिला संघ आधारभूत विद्यालयमा मतदान केन्द्र राखेको छ। त्यहाँ कांग्रेस र एमालेले मात्रै वडाध्यक्षका लागि मनोनयन दर्ता गराएको व्याँस गाउँपालिका निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कोशलेधर ज्ञवालीले बताए। उनले भने, ‘छाङरु र तिंकरको वडाध्यक्षका लागि दुई पार्टीमा मात्रै प्रतिस्पर्धा छ।’ आजको नागरिक दैनिकबाट