फाइल तस्बिर
रसुवा। नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जिल्लामा पोलभाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको विद्युत् लाइन काट्ने भएको छ । धुन्चे वितरण केन्द्रले लामो समयदेखि पोलभाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको लाइन काट्ने भएको हो ।
प्राधिकरण धुन्चे वितरण केन्द्रले पोलभाडा नतिर्ने सेवाप्रदायकको जेठ १ गतेबाट विद्युत् लाइन काट्ने जनाएको छ। प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने सेवाप्रदायकले सात वर्षदेखि पोलभाडा नतिरेकाले लाइन काट्न लागेको प्राधिकरणको भनाइ छ।
विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन, इन्टरनेट, केबल टिभी सेवा सञ्चालन गर्ने सेवाप्रदायकले ०७२ सालदेखि शुल्क नतिरेको बताइएको छ । नेपाल टेलिकमबाहेक अन्यले लामो समयदेखि शुल्क नतिरेको प्राधिकरणको भनाइ छ। सेवाप्रदायकलाई सम्झौता गर्नका लागि पटक–पटक पत्राचार गरेपनि उनीहरू हालसम्म सम्झौता गर्न नआएका कारण लाइन काट्न बाध्य भएको प्राधिकरणको भनाइ छ।
पोलभाडा सम्झौता गर्न अटेर गर्ने सेवाप्रदायक संस्थाहरूको हकमा आसन्न स्थानीय तहको मतदान केन्द्र तथा मतगणना स्थलहरूमा इन्टेरनेट सेवा प्रभावित नहुने यकिन गरी आउँदो जेठ १ गतेदेखि सम्बन्धित स्थानको स्थानीय कार्यालयको विद्युत् लाइन काट्ने, नयाँ सेवा विस्तार गरेको पाइएमा सामग्री तथा उपकरणहरू नियन्त्रणमा लिने निर्णय भएको प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । शुल्क नबुझाउने सबै सेवाप्रदायकको लाइन काट्नका लागि केन्द्रले परिपत्र गरिरहेको र यसको प्रक्रिया अघि बढाइएको छ ।
नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार जिल्लामा सातवटा सेवाप्रदायक रहेका छन् । सुबिसु, मर्कन्टाइल, वल्र्डलिंक, एनआइटिभी स्ट्रिम्ज, लाङटाङ केबल नेटवर्क, एभरेस्ट लिंक र बेत्रावती केबलले पोलभाडा नबुझाएको बताइएको छ ।