काठमाडौं। जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जना कर्मचारी र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला इन्जिनियर गोइत, इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्रबहादुर श्रेष्ठविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
माँ जानकी निर्माण सेवाका सञ्चालक भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका सञ्चालक विजयकुमार यादव र अन्नपूर्ण कन्स्ट्रक्सनका प्रोपाइटर ममतादेवी यादवविरुद्ध पनि आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
कर्मचारी र व्यवसायीको मिलेमतोमा गलत विवरण समेतलाई झुटो बिल भरपाई बनाई सरकारको ६६ लाख ६४ हजार ६ सय ९२ रूपैयाँ गैरकानूनी लाभ लिएको खुलेको छ।
ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत सप्तरीबाट रुपपनगर, सवानपुर, पथरी, घोघनपुरसमेतका नियमित सडक मर्मततर्फ सडकखण्डमा ग्रावेल सप्लाई र बोटबिरुवा रोप्दा प्रक्रिया नपुर्याइ भुक्तानी गरी सरकारलाई हानी नोक्सानी पुगेको अख्तियारको ठहर छ।
अख्तियारले तत्कालीन प्रमुख जिल्ला इन्जिनियर गोइत र इन्जिनियर पाठकबाट ६६ लाख ६४ हजार ६ सय ९२ रूपैयाँ बिगो मागदाबी गरेको छ भने तत्कालीन लेखापाल श्रेष्ठबाट २ लाख ५४ हजार ७ सय १० रूपैयाँ बिगो मागदाबीसहित सजायको माग गरिएको छ।
निर्माण व्यवसायी भूपेन्द्रविरुद्ध २१ लाख २ सय ४०, विजयविरुद्ध २६ लाख ५४ हजार २ सय १४ र ममतादेवीविरुद्ध १९ लाख १० हजार २ सय ३६ रूपैयाँ बिगो राखि सजायको माग गरिएको आयोगले जनाएको छ।