काठमाडौं। पाँच वर्षअघि पोखरा महानगरपालिकाको गठन हुँदा ग्रामीण भेगहरू पनि समेटिए। महानगरमा समेटिने क्रममा पर्यटकीय क्षेत्र फेवातालको सिरानक्षेत्र घट्टेछिना, वाम्दी, पामे, चापापानीलगायतका स्थान पनि जोडिन पुगे। महानगर बनेको उक्त क्षेत्रमा अहिलेसम्म पनि सडक भने पिच हुन सकेको छैन। जुन आशाले मत दिएर जनप्रतिनिधि बनाए उनीहरूले उक्त क्षेत्रका सडकलाई पिच बनाउन सकेनन्। वडा नम्बर २३ का स्थानीयको एउटै चाहना छ, सडक बर्खामा हिलाम्मे नहोस् र हिउँदमा धुलाम्मे।
पाँच वर्षपछि फर्केर हेर्दा स्थानीय लोकमाया पराजुलीले आफ्नो मत खेर गएको गुनासो गरिन। उनले जे आशा बोकेर मत दिए, त्यो आशा पूरा हुन सकेन। उनी भन्छीन्, “अहिले फेरि एक पटक कालो बाटो देख्न पाइन्छ कि भन्ने आशामा छौँ। अब आउनेले बनाइदिन्छन् कि।” पाँच वर्षअघि यो वडा पोखरा महानगरपालिकामा परेपछि विकासको आसमा रहनुभएकी लोकमायाले सडक मर्मत गरिदिए पोखरा आउन–जान सहज हुने बताइन्।
पोखरा महानगरपालिका यति बेला चुनावी रौनकले तातेको छ। प्रत्येक दिन उम्मेदवारहरू घरदैलोमा पुगेर मतदातासँग साक्षात्कार गरिरहेका छन्। उनले मत माग्दै घरदैलोमा पुगेका उम्मेदवारलाई एउटै कुरा भनेकी छिन् , “कालो बाटोमा हिँडाउछौं भने भोट दिन सकिन्छ।”
७० वर्षकी शोभा पौडेल आफ्नो वडाको विकास भएको देख्न आतुर छीन्। उनले भनिन, “मेरो बूढोले पाँच वर्षसम्म खपौँदीमा बसेर बाटो खने। उनको अहिले स्वर्गवास भइसके तर मेरो बूढोको सपना पूरा हुन सकिरहेको छैन।” २३ वडावासीलाई सुविधासम्पन्न बाटोको खाँचो रहेको उलेले सुनाइन्।
भौगोलिक रूपमा महानगरभित्र परे पनि त्यो ठाउँको सडक विकट गाउँको भन्दा पनि दुःखदायी छ। वडा नम्बर २३ मा अहिलेसम्म तीन सय मिटर मात्र बाटो पिच भएको छ। यहाँ मात्र नभई पोखरा महानगरभित्र जम्मा ६४१ किलोमिटर सडक अहिले पनि धुलाम्मे अवस्थामा छन्। पोखरा–२३ मा रहेको खहरेखोला र लौरुक खोलाको सिल्टेसन ड्यामका कारण जोखिम बढेको भन्दै यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीय विष्णुप्रसाद दाहालले बताए। आजको गोरखापत्र दैनिकबाट