डडेल्धुरा। गत असारमा काम सम्पन्न गर्ने गरी काम शुरु गरिएको एकघर एकधारा पोखरा खानेपानी योजना अलपत्र परेको छ। २०७८ असार २० गते काम सम्पन्न गर्ने गरी २०७६ मंसिर १३ गते योजनाको सम्झौता भएको थियो। तर काम सम्पन्न गर्ने मिति भन्दा झण्डै एक वर्ष बढी हुदाँ सम्म काम सम्पन्न नसक्दा उपभोक्ता मारमा परेका छन।
पुराना धाराहरु भत्काएर स्थानीयबासीहरुले घरघरमा नयाँ धाराहरु बनाई सकेका छन्। तर धारामा पानी नआएपछि पानीपिउन पाएका छैनन्। धारामा पानी नआएपछि आजभोली गाउँघरमा पानीको जोह गर्न स्थानीयलाई समस्या भएको स्थानीय लक्ष्मण पार्कीले बताए। अमरगढी नगरपालिका–७ पोखरा तिलाडी क्षेत्रमा एक दर्जन बढी टोलवस्तिलाई लक्षित गरी एकघर एकधारा योजनाको काम सञ्चालन गरिएको थियो।
करिव रु. तीन करोड ५८ लाख लागतमा एकघर एकधारा खानेपानी योजनाको काम सञ्चालन गरिएको पोखरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष टेक भण्डारीले बताए।
नेपाल सरकारको अनुदान रु. २३ लाख ८१ हजार, अमरगढी नगरपालिकाको रु.५४ लाख ११ हजार, निजिधारा खर्च रु. ८८ लाख २४ हजार, समुदायको सहयोग रु. ६७ लाख ५३ हजार र फिलनल्याण्ड सरकार र युरोपियन युनियनको अनुदान रु. एक करोड २५ लाख गरी कुल रकम रु.तीन करोड ५८ लाख ७२ हजार अनुमानित लागतमा योजनाको काम सञ्चालन गरिएको उनले बताए।
उपभोक्ताबाट रु. १२ लाख रकम अग्रिम संकलन गरि २०७६ मंसिर १३ गते सम्झौता भएको उपभोक्ता समिति अध्यक्ष भण्डारीले जानकारी दिए। अमरगढी–७ कै खालीगाड बाट पानि ल्याई उपभोक्तालाई वितरण गर्ने योजना थियो।
गत असोज, कात्तिक महिनामा आएको वेमौसमी वर्षाले खानेपानी मुहान, पाईप लाईनमा क्षती पुर्याएपछि काममा ढिलाइ भएको समितिले जानकारी दिएको छ। ग्रामिण जलस्रोत परियोजनाको समयावधी सकिएको र साझेदार संस्था स्थानीय सरकार अमरगढी नगरपालिका र वडा कार्यालयले आवश्यक रकम विनियोजन नगर्दा धारामा पानी छोड्न नसकिएको अध्यक्ष भण्डारीको भनाई छ। गोरखापत्रबाट