काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहँदा कुनै आश्चर्य नमान्दा हुन्छ। त्यसैको उपज स्थानीय तहको निर्वाचनलगत्तै सम्बन्धित निकायले पुनः पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य वृद्धि गर्ने संकेत गरिसकेका छन्।
त्यसैका कारण हुनुपर्छ, बजारमा व्यापारीले ग्यासको कृत्रिम अभाव सिर्जना गर्दा उपभोक्ता मारमा परेका छन्। त्यस्तै ग्यास अभाव हुनुको अर्को कारण ग्यास उद्योगीको आन्दोलन पनि हुन सक्छ। बजारमा उपभोक्ताले सहज रूपमा ग्यास नपाइरहेका बेला आयल निगमको विज्ञप्तिमा भने ग्यासको आयात बढेको तथ्यांकसमेत सार्वजनिक गर्दा उपभोक्तामा निगमले भ्रम सिर्जना गरेको हो कि भन्ने शंका उत्पन्न गराएको छ।
पेट्रोलियम पदार्थको उत्पादन गर्ने मुलुकबीचको असहज परिस्थिति तथा गएको महिनामा एलपी ग्यास उद्योग संघले विभिन्न माग राखी बिक्री–वितरणमा अवरोध गरेका कारण आपूर्ति व्यवस्था प्रभावित बनेको थियो। तर, निगमको भनाइ पत्याउने हो भने हाल सहमतिपश्चात् ग्यासको आयात र वितरणमा सहज भएको बताए पनि निगमको दाबीलाई सहरका ग्यास पसलमा ग्यास लिनेको लाइन हेर्दा नै स्पष्ट पार्छ कि ग्यास लिन कति असहज परिस्थिति छ भन्नेमा। नजिकैको ग्यास पसलमा ग्यास लिन गए नाम टिपाउनुस्, एक हप्तापछि पालो आउँछ भन्ने जवाफ आउँछ। तर, एक हप्तापछि पनि पाइन्छ भन्नेमा ढुक्क हुने अवस्था भने छैन।
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले निगमबाट ग्यास उठाएनन्। त्यसै कारण पनि हुन सक्छ, बजारमा ग्यास अभाव भएको। अर्को कारण यो पनि हुन सक्छ, व्यवसायीको आन्दोलनले अत्तालिएका केही चलाख सर्वसाधारण, होटल, रेस्टुराँ व्यवसायीले ग्यास मौज्दात गरेपछि आपूर्ति प्रणाली अव्यवस्थित बन्दै गएको एक थरी जानकारहरू बताउँछन्। यद्यपि जेजस्तो अवस्था भए पनि बजारमा ग्यासको अभाव भने देखिएको छ।
चाहे उपभोक्ताले घरमा थुपारेका हुन्, या त व्यापारीले लुकाएका हुन्, तिनै जानून्। तर, यति बेला नेपाली बजारमा एलपी ग्यासको चरम अभाव भएको छ। उद्योगीले पर्याप्त मात्रामा ग्यास सञ्चित भएको भनिरहे तापनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्।
हामी नेपालीमा केही वस्तुको अभाव छ भन्ने सुन्नेबित्तिकै घरभरि थुपार्ने बानी छ। यद्यपि त्यस्तो बानी मात्र हटाउने हो भने आम उपभोक्ताले सहज रूपमा ग्यास लिन पाउनेछन्। यदि ग्यास नहुने हो भने सहरका साधारण मानिसका भान्सामा चुलो बल्नै गाह्रो हुन्छ। हुनेखानेकहाँ ग्यासका सिलिन्डर पर्याप्त मात्रामा भरेर राखिएका होलान् तर निम्न आय भएका मजदुरको डेरा भएको एउटा ग्यासको सिलिन्डर पनि सकिँदा र बजारमा पैसा तिरर किन्छु भन्दा पनि उपयुक्त व्यवस्था नगरिदिनु दुःखको कुरा हो।
स्थानीय तहको निर्वाचन आउँदै छ, सम्भावित जनप्रतिनिधिहरूले जनतामा आश्वासन बाड्दै छन् तर नागरिकको दैनिक जीवनलाई सरोकार राख्ने यस्ता विषय महत्वमा नै पर्दैनन्। अब बन्ने स्थानीय निकायले यस्ता विषयमा ध्यान पु(याउनु जरुरी देखिन्छ। कारोबार दैनिकबाट