काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका लागि आउने भएपछि चार वटा हेलिप्याड तयार गरिएको छ। प्रधानमन्त्री मोदी आगामी जेठ २ लुम्बिनी भ्रमणमा आउने भएपछि लुम्बिनी विकास कोषले १० दिनमा चार वटा हेलिप्याड तयार गरेको हो।
मोदीको भ्रमण तय भएसँगै त्यसलाई सहज बनाउनका लागि भनेर रातारात पूर्वाधारहरु तयार गर्न थालिएको छ। लुम्बिनी विकास कोषले आयोजना गर्न लागेको कार्यक्रममा भाग लिने गरी मोदीले दिल्लीबाट सोझै लुम्बिनीको भ्रमण गर्न लागेका छन्।
यही क्रममा मोदी भ्रमणलाई सहज बनाउनका लागि भनेर लुम्बिनी विकास कोषले ८० लाख रुपैयाँ खर्चिएर चारवटा हेलिप्याड १० दिनमै तयार पारेको कोषले जनाएको छ।
हेलिप्याडमा सेक्युरिटी, स्टाण्डर्ड डिजाइनको काम सकिइसकेको छ भने टायल लगाउने, सरसफाइ गर्ने लगायतका काम बाँकी रहेको कोषले जनाएको छ। यी चार हेलिप्याड लुम्बिनी गुरुयोजनाअन्तर्गतकै हिस्सा भएको बताइएको छ।
चारवटा हेलिप्याडसँगै, फुटपाथ, ड्रेन लगायत तयार गरिएको छ। गुरुयोजनाअन्तर्गतका यी कामका लागि कोषले खानी अर्घखाँची बाबु निर्माण सेवालाई ठेक्का दिएको थियो।
हेलिप्याडको निर्माण कोषको खर्चमा गरिएको भए पनि यसको मोनिटरिङ र सर्टिफिकेशन भने नागरिक उड्डयन प्राधिकरणले नै गर्ने जनाइएको छ।
लुम्बिनी गुरुयोजनाका लागि सरकारले चालु आर्थिक वर्षलाई एक अर्ब ५० करोड रुपैयाँ छुट्टाएको थियो। कोषका अनुसार हालसम्म करिब ८४ करोड रुपैयाँ खर्च भइसकेको छ।