काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो नियमित व्यवसायिक उडान कुवेतको जजिरा एयरवेजले जेठ २९ गतेबाट गर्ने भएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको अनुमति लिएको जजिराले उदघाटन उडान भने जेठ २ गते बुद्ध पूर्णिमाका दिन गर्ने भएपनि व्यवसायिक उडान भने २९ गते देखि गर्ने भएको छ। सरकारले विमानस्थल उदघाटन पनि जेठ २ गतेनै गर्ने भएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार जजिराले जेठ २९ गतेदेखि सातामा तीन दिन उडान भर्ने बताए।
जजिरा एयरवेजले अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको छ। जजिराले सार्वजनिक गरेको तालिका अनुसार भैरहवाका लागि उड्ने जहाज कतारको दोहाबाट कुवेत जानेछ। कतारबाट सिधै भैरहवा आउन चाहने यात्रुले समेत यस उडानमा सेवा लिन सक्ने भएका छन्। कुवेतमा ट्रान्जिट भई भैरहवा आउन पाउने सुविधा अव मिल्ने छ। जहाज सिधै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको छ।
जेठ २ गते स्थानीय समय अनुसार ६ बजेर २० मिनेटमा दोहाबाट उड्ने जहाज स्थानीय समय अनुसार ७ः४५ बजे कुवेत अवतरण गर्नेछ। यो जहाज कुवेतमा चार घण्टा ट्रान्जिट गरी स्थानीय समय अनुसार २३ः४५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि जहाज उड्ने छ। यो जहाज नेपालको स्थानीय समयअनुसार बिहान ७ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ।
“नियमित उडान भने २९ जेठ (१२ जुन) बाट सुरु हुनेछ। सो बेला भने दोहाबाट १५ः३० मा उड्ने जहाज कुवेतमा एक घण्टा ३५ मिनेट ट्रान्जिट गरी भैरहवाका लागि उड्ने छ”, महाप्रवन्धक दाहालले भने। सार्वजनिक तालिका अनुसार नेपाली समय अनुसार राति १ः४५ बजे जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण हुने छ।
यो विमानस्थल सञ्चालनसँगै वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि अरवमुलुक प्रवेश गर्ने नेपालीका लागि सहज हुने भएको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत थप सहज हुने अपेक्षा विमानस्थलले गरेको छ। आजको गोरखापत्र दैनिकबाट