काठमाडौं। गत वैशाख ११ गतेदेखि निर्माण व्यवसायीहरुले ‘निर्माण होलिडे’ घोषणा गरी देशभरका काम ठप्प पारेका छन्। निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि समायोजन गर्नुपर्ने, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरु सच्याउनुपर्ने लगायतका माग राख्दै नेपाल निर्माण व्यवसायी महासंघले काम ठप्प पारेको हो। महासंघले आफूहरुको माग पूरा नभएसम्म काम शुरु नगर्ने बताएको छ। व्यवसायीहरुले काम रोक्दा देशभरका पाँच हजार भन्दा बढी निर्माणाधीन आयोजनाहरु अलपत्र परेका छन्।
निर्माण व्यवसायीहरुको मागको विषयमा सरकार पक्ष र महासंघकाबीचमा छलफल पनि जारी छ। महासंघले काम रोकेसँगै हालसम्म दुई पक्षबीच तीन पटक वार्ता भएपनि निष्कर्ष भने निस्किएको छैन। अन्तिम बैठक २३ गते बसेपछि भने अब अर्को बैठक कहिले हुन्छ भन्ने टुंगो पनि छैन। निर्माण व्यवसायी महासंघ काम रोकेर बसेको छ, देशभरका पाँच हजारभन्दा बढी आयोजना अलपत्र छन् तर सरकारले भने वार्ताका लागि आलटाल गरेको देखिन्छ। चाँडै वार्ता टुंग्याएर काममा फर्किन न व्यवसायीलाई हतार छ न त अलपत्र परेका निर्माणाधीन आयोजनाको काम तुरुन्त सुचारु गर्न सरकारले कुनै समाधान निकाल्ने कोशिस नै गरेको देखिन्छ ।
निर्माण व्यवसायी महासंघले घोषणा गरेको ‘निर्माण होलिडे’ लाई समर्थन गर्न धेरै निर्माण व्यवसायीले काम रोकेका छन् भने केही निर्माण व्यवसायीले महासंघलाई मौखिक रुपमा सहयोग गरेपनि आफ्ना काम पनि सुचारुगरिरहेका छन्। निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरुले घाटा वेहोरेर काम गर्न नसक्ने अवस्था आएको हो। केही निर्माण व्यवसायीले पहिले स्टक राखेका निर्माण सामाग्रीको प्रयोग गरेर काम गरिरहेका छन् तर अब पुराना सामाग्री सकिँदै गएपछि भने कामको गति पनि घट्दै गएको देखिन्छ। नयाँ निर्माण सामाग्री खरिद गरेर काम गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरुको भनाइ छ।
निर्माण होलिडेले गौरवका आयोजनामा पारेको प्रभाव
सबै शक्ति प्रयोग गरेर कुनै पनि अवरोध सिर्जना हुन नदिने गरी मुख्य प्राथमिकतामा राखिएका आयोजनालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको नाम दिएको छ। यी आयोजनाले आर्थिक प्रतिफलका हिसाबले राष्ट्रको मुहार फेर्ने अपेक्षा छ र ठूला र राष्ट्रिय रुपमा महत्वपूर्ण आयोजनालाई मात्रै राष्ट्रिय गौरवका आयोजनामा राखिएको छ। तर ती नै कुनै अवरोध सिर्जना हुन नदिने गरी राष्ट्रिय रुपमा प्राथमिकतामा राखिएका आयोजनाहरुको काम नै कछुवा गतिमा भइरहेका छन्। अधिकांश आयोजनाको काम समयमा नसकिएको, समय बाँकी भएकाको पनि सकिने छाटकाट देखिएको छैन भने केही सम्पन्न भएका आयोजना पनि सम्पन्न गर्नुपर्ने समयभन्दा धेरै ढिलो भएको छ। विभिन्न समस्या र बाधाका कारण ढिलाइ भएका गौरवका आयोजनाको काममा हाल निर्माण व्यवसायीहरुको ‘निर्माण हालिडे’ पनि एक कारण बन्न पुगेको छ। निर्माण व्यवसायीहरुले गरेको निर्माण होलिडेका कारण यतिबेला गौरवका आयोजनाको काम सुस्ताएको छ।
बर्दिया जिल्लाको ३६ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्याउने उद्देश्यका साथ बबई सिंचाइ आयोजना अन्तर्गत विभिन्न कामहरु सञ्चालित छन्। २०७९/८० सालसम्म सम्पन्न गर्नेगरी २०४५ ४६ सालमा सुरु भएको यस आयोजनाको हालसम्म आधा काम पनि पूरा भएको छैन। खेतीको काम गर्दै नहर निर्माण पनि गर्नुपर्ने हुँदा माघ १ गतेखि जेठको २२ गतेसम्म मात्र यहाँ सहज रुपमा काम गर्न सकिने आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर रामृष्ण घोरासैनीले बताए। काम गर्नुपर्ने समयमा नै ‘निर्माण होलिडे’ को नाममा निर्माण व्यवसायी बेपत्ता हुँदा अहिले काम पूर्ण रुपमा रोकिएको उनको भनाइ छ। उनले भने, ‘बबई सिंचाइ आयोजनाको काम अन्य सिंचाइ आयोजनाको भन्दा फरक छ। यहाँ खेतीका लागि पानी सञ्चालन गर्दै निर्माणको काम पनि गर्नुपर्ने हुन्छ। खेती गर्ने ५ महिनासम्म राम्रोसँग काम गर्न पाइँदैन। अहिले काम गर्नुपर्ने समयमा व्यवसायीहरु निर्माण होलिडे मनाएर बसेका छन्।’
उनले म्याद सकिन लागेका निर्माण व्यवसायी मात्र सम्पर्कमा आउने नत्र अन्यलाई कामको वास्ता नहुने गुनासो गरे। इञ्जिनियर घोरासैनीले काम गर्ने बेला होलिडे मनाउँदै बस्ने र म्याद सकिएपछि थप गर्न माग गर्ने निर्माण व्यवसायीहरुको व्यवहारप्रति हैरान भएको समेत बताए।
यति बेला बबई आयोजनामा २ करोड मुनिका १६ वटा र २ करोड माथिका ५९ वटा गरी जम्मा ७५ वटा प्रोजेक्ट चलिरहेका छन्। तर निर्माण होलिडे भन्दै निर्माण व्यवसायी निर्माणाधीन काम समेत रोकेर बसेको इञ्जिनियर घुरासैनीले बताए।
२०८०/८१ मा सम्पन्न गर्नेगरी २०६५/६६ उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्गको काममा पनि ‘निर्माण होलिडे’ को प्रभाव परेको छ। कालीगण्डकी कोरिडोरमा केही निर्माण व्यवसायीले मात्र आफूसँग स्टकमा राखेको निर्माण सामाग्रीको प्रयोग गरेर काम गरिरहेको कालिगण्डकी आयोजनाका प्रमुख कल्पना अधिकारीले जानकारी दिइन्। उनले भनिन्, ‘पहिले जस्तो तीव्र गतिमा काम त हुन सकेको छैन। निर्माण व्यवसायीको निर्माण होलिडे र निर्माण सामाग्रीको मूल्यवृद्धिका कारण काममा सुस्तता भने आएको छ। काम ठप्प पनि भएको छैन र तीव्र गतिमा अघि पनि बढ्न सकेको छैन।’ उनले कालोपत्रे गर्ने ठाउँमा ग्रोभेलसम्म मात्र भएको बताइन्।
त्यसैगरी सिक्टा सिंचाइ आयोजनाको काममा पनि निर्माण होलिडेको प्रभाव परेको छ। २०६१ मा शुरु भएको काम हालसम्म ६९ प्रतिशत मात्र सम्पन्न भएको छ। कहिले मुआब्जा तथा कहिले प्राविधिक समस्याका कारण ढिलाइ हुँदै आएको सिक्टा सिंचाइ आयोजनामा अहिले निर्माण व्यवसायीको निर्माण होलिडेको प्रभाव परेको छ। निर्माण व्यवसायीहरुले सक्रियताका साथ आयोजनाका काम गरिरहेका छैनन्। आयोजनाका काम पुरै शुन्य नभएपनि पहिले जस्तो तीव्र गतिमा समेत अघि बढ्न नसकेको सिक्टा सिंचाइ आयोजनाका निर्देशक सन्तोष कैनीले बताए। निर्माण व्यवसायीले आफूसँग भएको पुराना निर्माण सामाग्री प्रयोग गरेर सुस्त ढंगले काम गरिरहेको उनले जानकारी दिए। उनले भने, ‘मूल्यवृद्धि छ भन्दै निर्माण व्यवसायीले सामाग्री ल्याएर गर्नुपर्ने काम भने गरेका छैनन्। तर काम पुरै शुन्य पनि भएको छैन। पुराना भएका सामाग्रीको प्रयोग गरेर काम गरिरहेका छन्। निर्माण होलिडे भन्दा पनि मूल्यवृद्धिको प्रभाव भने आयोजनामा परेको छ।’
सेनाको निर्देशनमा भइरहेको तराई मधेश द्रुतमार्गको काममा भने ‘निर्माण होलिडे’ को असर नपरेको नेपाली सेनाका प्रवक्ता नारायण शिलवालले जानकारी दिए। उनले भने, ‘तराई मधेश द्रुतमार्गको काममा ‘निर्माण होलिडे’ ले कुनै असर गरेको छैन। निरन्तर पहिले जसरी नै काम भइरहेको छ।’