काठमाडौं। नेपालमा बेमौसमी वर्षाका कारण दैनिक आधा करोड युनिट विद्युत् उत्पादन बढेको छ। गत हप्ता शनिवारदेखि यो हप्ता आइतवारसम्म नियमित वर्षा भइरहेपछि आन्तरिक उत्पादन झन्डै आधा करोड युनिट बढेको हो।
वर्षा हुनु अघिसम्म नेपालको आन्तरिक उत्पादन १ करोड ९८ लाख २ हजार युनिट मात्रै रहेको थियो । जबकी विद्युत माग भने ३ करोड ३२ लाख २० हजार युनिट रहेको थियो । अपुग १ करोड ३४ लाख १८ हजार युनिट विद्युत् मध्ये भारतबाट ८८ लाख ६९ हजार युनिट विद्युत् आयात भइरहेको थियो । बाँकी ४५ लाख ५० हजार युनिट विद्युत् अपुग भएपछि औद्योगिक क्षेत्रमा आपूर्ति रोकिएको थियो ।
विद्युत उत्पादन बढेपछि औद्योगिक क्षेत्रमा पनि नियमित विद्युत् आपूर्ति सम्भव भएको छ। आइतवार ३ करोड २० लाख ७६ हजार युनिट विद्युत् माग रहेकोमा भारतबाट ७३ लाख ९३ हजार युनिट आयात गरिएको छ । बाँकी आन्तरिक उत्पादनबाटै आपूर्ति गरिएको विद्युत् प्राधिकरणको तथ्याङ्क छ ।
अहिले विद्युत् प्राधिकरणका आयोजनाबाट करीब ६ लाख युनिट विद्युत उत्पादन बढ्दा प्राधिकरणकै सहायक कम्पनीका आयोजनाबाट १३ लाख युनिट र निजी क्षेत्रका आयोजनाबाट सर्वाधिक २५ लाख युनिट विद्युत उत्पादन बढेको प्राधिकरणको तथ्याङ्क छ ।
आइतवारको तथ्याङकमा विद्युत् प्राधिकरणका आयोजनाबाट ८९ लाख ८ हजार युनिट, सहायक कम्पनीबाट ५२ लाख २४ हजार युनिट र निजी क्षेत्रका आयोजनाबाट १ करोड ५१ लाख युनिट विद्युत उत्पादन भएको छ ।
जबकी यस अघिको शुक्रवारको तथ्याङ्कमा प्राधिकरणका आयोजनाबाट ८३ लाख १८ हजार युनिट, सहायक कम्पनीबाट ३९ लाख १९ हजार युनिट र निजी क्षेत्रका आयोजनाबाट ७५ लाख ६५ हजार युनिट मात्रै विद्युत् उत्पादन भइरहेको थियो ।
मौसम विज्ञान विभागले आगामी शुक्रवारसम्म देशका विभिन्न ठाउँमा वर्षा हुने पूर्वानुमान गरेको छ । शुक्रवार सम्मै पानी परेको खण्डमा त्यसले त्यसपछिको २, ३ दिनसम्म नै विद्युत् उत्पादन बढ्न सक्ने अनुमान छ । त्यसपछि भने हिउँ पग्लिएका कारण नै विद्युत् उत्पादन स्वतह बढ्ने प्राधिकरणको भनाइ छ ।