काठमाडौं। जेठ २ गते नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ।
बुद्ध जयन्तीको अवसर पारेर जेठ २ बाट गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उडान औपचारिक रुपमा सुरु हुँदैछ। विमानस्थलको उद्घाटन पनि सोही दिन हुँदैछ। सोही क्रममा निगमले आफ्नो न्यारोबडी जहाजमार्फत विमानस्थल उद्घाटन उडान गर्न लागेको हो।
उक्त दिन बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने यो जहाज बिहान ८ भैरहवाबाट पुनः काठमाडौं फर्कने समय तालिका रहेको निगमले जानकारी दिएको छ।
यो उडानमा विमानस्थल समुद्घाटनका लागि सहभागि निगम, नागरिक उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारिको रहने छन्। तर यसबाहेक सर्वसाधारणले पनि टिकट काटेर न्यारोबडीको उक्त जहाजबाट काठमाडौं–भैरहवा–काठमाडौं उड्न पाउने जनाइएको छ।
निगमका अनुसार यो उडानका लागि सर्वसाधरणलाई पनि टिकट खुला गरिएको छ। जसको एकतर्फी सुरुवाती भाडादर चार हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ।
पर्यटनमन्त्री प्रेमबहादुर आले भने नेपाली सेनाको हेलिकोप्टरमार्फत विमानस्थल उद्घाटन कार्यक्रममा जाने योजना रहेको मन्त्रालय स्रोतले जनाएको छ।
यो विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगमको एयरबस ३३० वाइडबडी जहाजले प्रदर्शनी उडान गरिसकेको छ।
जेठ २ बाट सुरु हुने व्यवसायिक उडानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्नेछन्।