जुम्ला। कर्णालीको आर्थिक समृद्धिको आधार तर मृत्युमार्गको उपनामले परिचित कर्णाली राजमार्ग स्तवृद्धिले गति लिएको छ। डबल लेन निर्माण, कालोपत्रे, ग्राभेललगायत राजमार्ग स्तरवृद्धिका काम धमाधम भइरहेका छन्।
कालिकोट जुम्ला खण्डको अति अप्ठयारो पिली क्षेत्रमा सडक कालोपत्रे भएपछि ढुक्कले सवारी गुड्न थालेका छन्। सुर्खेतको बांगेसिमलदेखि जुम्लासम्मको २ सय ३२ किमि लामो कर्णाली राजमार्गको दैलेख खण्डमा भने अपेक्षित सुधार हुन सकेको छैन।
तर जुम्ला सडक डिभिजनको कार्यक्षेत्र कालिकोटको दैखोलादेखि जुम्लातर्फको सडकमा भने उल्लेख्य सुधार भएको छ। सडक डिभिजन जुम्लाको कार्यक्षेत्र रहेको राजमार्गको १ सय ६७ किलोमिटर सडकमा कालोपत्रे, डबल लेन, नाला निर्माण, ग्राभेललगायतका काम भइरहेको छ। जसमा कालिकोटको पिली, विहानी खोला, बालीघाट, टाकुल्ला, खल्लाघाडलगायतका दर्जनौं स्थानमा कालोपत्रे भइरहेको छ। जोखिमयुक्त स्थानलाई प्राथमिकता दिएर राजमार्गको स्तरवृद्धि गरेपछि अहिले ढुक्कले यात्रा गर्ने अवस्था आएको चन्दननाथ–५ जुम्लाका स्थानीय धनराज सुनारले बताए।
उनले भने, “कर्णाली राजमार्गको कालिकोट जुम्ला खण्ड उल्लेख्य रूपमा सुधार भए पनि दैलेख कार्यक्षेत्रको सडकमा अझै सास्ती छ। कर्णाली राजमार्ग भरपर्दो बनाउन तीनै तहका सरकार अझ जिम्मेवार हुन आवश्यक छ।” सबैभन्दा जोखिमपूर्ण कालिकोटको पिली क्षेत्रमा कालोपत्रे हुँदा खुसी लागेको समेत सुनारले उल्लेख गरे।
५६ किमि सडक स्तरवृद्धि हुँदै
सडक डिभिजन जुम्लाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कर्णाली राजमार्गको कालिकोट दैखोलादेखि जुम्लासम्मको १ सय ६७ किमि सडकमध्ये ५६ किमि सडक स्तरवृद्धि गरिरहेको छ। झण्डै १७ वटा ठेक्कामार्फत सडक स्तरवृद्धि भइरहेको छ। दैलेख खण्डभन्दा कालिकोट–जुम्ला खण्डमा सडक स्तरवृद्धि दु्रत गतिमा भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीले उल्लेख्य काम हुन सकेको छैन। तर पनि डबल लेन निर्माण, कालोपत्रे, ग्राभेल, नाला निर्माणलगायत सडक स्तरवृद्धिका काम भने भइरहेको छ।
जसमा नाग्म जुम्ला खण्डको १.६ किमि, मान्म–कालिकोट खण्डको २.८५ किमि, सेरीघाट–मान्म २.८ किमि, बालिघाट–नाग्म ५.६ किमि, नाग्म–जुम्ला खण्डको १.८ र १.९ किमि सडक कालोपत्रेसहित स्तरवृद्धि भएको सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार चालू आवमा ५६ किमि सडक स्तरवृद्धि गर्ने लक्ष्य भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कामले अपेक्षित गति लिएको छैन। सडक स्तरवृद्धिका लागि ठेक्का सम्झौता भएका १७ ठेक्कामध्ये नौवटा ठेक्काको काम उल्लेख्य रूपमा हुन सकेको छैन भने अन्य ठेक्काको काम सन्तोषजनक रहेको सडक डिभिजनको प्रतिवेदनमा उल्लेख छ।
जसमा कालिकोट जुम्ला खण्डको दुई आव पहिले ठेक्का सम्झौता भएका २१.५ किमि र १२।५ किमि सडक पुनःमर्मतको काम हुन सकेको छैन। कार्यालयले दिएको निर्देशनलाई समेत निर्माण व्यवसायीले अटेरी गरेका छन्। असार मसान्तसम्म सडक स्तरवृद्धिको ८० प्रतिशत काम सकिने अनुमान छ।
दैलेख खण्ड अझै धुलाम्य
कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्ड अझै धुलाम्य छ। तल्लो डुंगेश्वरदेखि कालिकोटतर्फको झण्डै १० किलोमिटर सडक सुधार नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ। अहिलेसम्म ग्राभेल नहुँदा धुलो धुँवाले यात्रुसँगै सडक छेउका बस्तीका स्थानीयसमेत प्रभावित भएका छन्।
दैलेखको पाल्तडा, टुनिबगर, राकमकर्णाली, खिड्की ज्युलालगायतका सडक खण्डमा कालोपत्रेसँगै सडक स्तरवृद्धि भएको छ। तर तल्लो डुंगेश्वरदेखि पादुका खोलासम्म करिब ८ किमि सडक धुलाम्य हुँदा स्तरवृद्धिमा ध्यान दिन आवश्यक देखिन्छ। दैलेखका युवा श्रवण आचार्य भन्छन्, “बजेट अभाव हो कि, ठेकेदारले काम नगरेर हो। दैलेख खण्डको अधिकांश सडक खाल्डाखुल्डी हुँदा यात्रुले सास्ती खेप्नु परेको छ।” कारोबार दैनिकबाट