गजुरी। संघीय राजधानी काठमाडौं जोड्ने एकमात्र मुख्य राजमार्ग नौबिसे नागढुंगामा उकालो, ओरालो, घुमाउरो, साघुँरो र घुम्ती भएका कारण यात्रा कष्टपूर्ण भइरहेको छ। चाडवर्पको समयमा सवारी साधनको अत्यधिक चापका हुने भएका कारण घण्टौंसम्म ट्राफिक जाम हुँदै आएको छ। नागढुंगा–मुग्लिन सडक चार लेनको बनाउने योजनाअनुसार निर्माण ठेक्का लागिसकेको छ। त्यसैले सरकारले धार्के–सीतापाइला सडकलाई विकल्पको रूपमा लिएको छ। अहिले यो सडकको स्तरोन्नति कार्य धमाधम भइरहेको छ। धादिङतर्फ पर्ने धार्केदेखि ठूलोखोलासम्मको १४ किलोमिटर र काठमाडौतर्फ पर्ने ठूलोखोलादेखि सीतापाइलासम्मको १० किलोमिटर सडकको केही भाग कालोपत्रेसमेत भइसकेको छ।
यो सडक खण्डको शून्य किलोमिटर सीतापाइला (चक्रपथ) देखि रामकोट–भीमढुंगा–महेशफाँट हुँदै धार्के पुग्ने छ। सीतापाइलादेखि धार्केसम्म कुल २४ किलोमिटर रहेको यो खण्डको चौडाइ १२ मिटर हुने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ। यो सडक खण्ड कालोपत्रे भएपछि धार्के हुँदै काठमाडौं आवतजावत गर्न यात्रुलाई सहज हुनेछ भने नागढुंगा–मुग्लिन सडक चार लेनको निर्माण गर्ने क्रममा धार्केदेखि काठमाडौंतर्फको यातायात व्यवस्था पनि सहज हुने सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमालले बताए।
दूरीका हिसाबले पनि नौबिसे–नागढुंगा सडक खण्डभन्दा धार्के–सीतापाइला सडक काठमाडौं प्रवेशका लागि छोटो सडकमार्ग हुनेछ। सडक विस्तारका लागि काठमाडौं खण्ड र धादिङ गरी दुई भागमा विभाजन गरी काम भइरहेको छ। सडकलाई फराकिलो बनाउन सडक विभागले दुईवटा आफ्ना सडक डिभिजन कार्यालयलाई जिम्मेवारी दिइसकेको छ। धार्केबाट १४ किलोमिटरसम्मको सडक सडक डिभिजन कार्यालय नुवाकोट र काठमाडौंतर्फको १० किलोमिटर सडकको स्तरोन्नति सडक डिभिजन कार्यालय काठमाडौंले गरिरहेको छ।
सडक डिभिजन कार्यालय नुवाकोटले धादिङ खण्डको धार्केदेखि ठूलोखोलासम्मको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ। धार्केदेखिको तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारीमा छ भने बाकी ११ किलोमिटरको ठेक्का आह्वान गरेको छ। आगामी दुई वर्षमा सडक निर्माण सक्ने गरी काम थालिएको सडक डिभिजन नुवाकोटका प्रमुख अमृतमणि रिमालले बताए। “धादिङतर्फको तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारीमा धमाधम काम भइरहेको छ,” उनले भने, “बा“की ११ किलोमिटरका लागि ठेक्का आह्वान गरेका छौं, त्यो पनि अब चॉडै प्रक्रिया पूरा गरेर काम थाल्नेछौं।”
सडकमा सीएम/दिव्यज्योति/नाना जेभीले काम गरिरहेको छ। तीन किलोमिटर सडक कालोपत्रे गर्नका लागि १५ करोड लाग्ने अनुमान गरिएको छ। १४ किलोमिटर नै कालोपत्रे गर्न ९० करोड लाग्ने अनुमान गरिएको छ। ठूलोखोलादेखि सीतापाइलासम्म १० किलोमिटर छ। काठमाडौंतर्फ पर्ने सीतापाइलादेखि रामकोटसम्मको पाँच किलोमिटर सडकमा कालोपत्रे नै भइसकेको छ। रामकोटदेखि काठमाडौं–धादिङको सिमाना ठूलोखोलासम्मको बॉकी पाँच किलोमिटर सडकमा भने अहिले धमाधम काम भइरहेको छ।
सीतापाइलोदखि रामकोटसम्मको सडक स्तरोन्नति गर्न सरकारले २७ करोड रुपैयॉ खर्चेको थियो। रामकोटदेखि ठूलोखोलासम्मको सडक स्तरोन्नतिका लागि यो वर्ष ३५ करोड ३० लाख रुपैयॉको ठेक्का लगाइएको थियो। उक्त सडक कान्छाराम सीएम वेदान्सी जेभीले स्तरोन्नति गरिरहेको छ। १० मिटर चौडाइसहित दुई लेनमा सवारी दौडाउन सकिने गरी बनिरहेको यो बाटोमा दायाँबायाँ एक।एक मिटरको ढल निकास गरी जम्मा १२ मिटरमा काम भइरहेको छ। अहिले सडक चौडा गर्ने, पर्खाल तथा नाली बनाउनेसहितका काम अगाडि बढिरहेको डिभिजन प्रमुख रिमाल बताउँछन्। “काठमाडौंबाट नौबिसे हुदै धार्केसम्म जाने सडकखण्डको उपयुक्त विकल्प सीतापाइलाबाट धादिङको महेशफाँट हुँदै धार्के जोड्ने सडक भएकाले सोहीअनुसार प्राथमिकतामा राखेर सडक विस्तार कार्य सुरु गरेको हौं,” रिमाल भन्छन्, “यो सडक पूर्णरूपमा समयमै सम्पन्न भएमा काठमाडौं भित्रिँदा र बाहिरिँदा नागढुंगाको जाम छल्ने एउटा सशक्त विकल्प तयार हुनेछ।”
यो सडक विस्तार भएर सञ्चालनमा आएपछि नौबिसेदेखि नागढुंगासम्म हुने सवारीको जाम कम हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा सडक फराकिलो बनाउने तथा कल्भर्ट र पर्खालसहित आवश्यक पूर्वाधारहरू तयार गर्ने र अर्को चरणमा सडक कालोपत्रे गर्ने योजनासहित काम गरिएको छ। यो सडक दुई लेनको भएपछि काठमाडौंदेखि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौं फर्कन दुईवटा विकल्प तयार हुनेछ। नागढुंगामा सानो समस्या आए पनि घण्टौं रोकिनुपर्ने बाध्यता सडक फराकिलो भएपछि रोकिने छ।
यस सडकको निर्माणकार्य समयमा सकिए मात्र नागढुंगा–मुग्लिन सडक विस्तारको काम अघि बढाउन सकिने डिभिजन प्रमुख रिमालको भनाइ छ। उनी भन्छन्, “यो सडक नबनेसम्म सवारी आवागमनका लागि नागढुंगा–मुग्लिन सडक नै प्रयोग गर्नुको विकल्प नभएकाले त्यसलाई चार लेनमा विस्तारको योजनामा काम गर्न असम्भव छ।” गत वर्षको जेठ महिनाबाट सुरु गरिएको सडक अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ।
२०४४ सालमै ट्रयाक खोलिएको यो सडक त्यसयता सामान्य स्तरोन्नति हु“दै आएको भए पनि बेवास्ता गरिएको थियो। सोही कारण अझैसम्म पनि साना सवारी साधनसमेत बाह्रैमास चल्न सक्ने अवस्थामा सडक छैन। अहिले धमाधम सडक स्तरोन्नतिको कार्य चलिरहेका कारण केही आशा पलाएको धुनीबेसी नगरपालिकास्थित पुरानो धार्केका स्थानीय रामकुमार तामाङले बताए। “घाम लागेको बेला धुलो र पानी परेको बेला हिलोले हैरानी खेप्दै आइरहेका छौं,” उनी भन्छन्, “सडक स्तरोन्नतिको कार्य धमाधम भइरहेको छ, अब सास्ती खेप्नुपर्दैन कि?”
अहिले नागढुंगाको उकालोमा एउटा सवारी बिग्रिए पनि एकोहोरो सवारी चल्दा लामो जाम खेप्नुपर्ने बाध्यता यात्रु र सवारीलाई छ। अब बन्ने दुई लेनको सडकलाई स्तरीय बनाउन सके बेलाबेलामा हुने सास्ती हट्ने विश्वास गरिएको छ। यसमा बनाइने पूर्वाधारलाई मजबुद र आधुनिक प्रविधियुक्त बनाइने कार्यालयले जनाएको छ। स्तरोन्नतिको काम सम्पन्न भएपछि यो सडक काठमाडौं प्रवेशका लागि अर्को भरपर्दो विकल्पका रूपमा रहनेछ। वैकल्पिक मार्गको रूपमा धमाधम काम भइरहेको धार्के–सीतापाइला नौबिसे–नागढुंगा सडक। आजको कारोबार दैनिकबाट