धनगढी। कैलालीको गोदावरी नगरपालिकाको ओलानी क्षेत्र (वडा नम्बर १०, ११ र १२) दुर्गम वडाभित्र पर्छन्। विगतको गोदावरी गाविसभित्र पर्ने ती वडामा राम्रो सडकसमेत पुग्न सकेको छैन।
गोदावरी १२ का ५५ वर्षीय चन्द्रसिंह बडैलाले विगत आफूले जान्ने भएदेखि ओलानीबाट अत्तरिया आउने सडक उस्तै देखिरहेको बताउँछन्। उनका अनुसार मोहना सिंँचाइ आयोजना बनेपछि नहरको किनारै किनारमा पनि बाटो बनेको थियो। तर सो बाटो पनि कालोपत्रे भएको छैन।
पछिल्लो समयमा चौकीडाँडा–ओलानी–फल्टुडे सडकको चौकीडाँडा–ओलानी खण्ड चौडा गरिएको छ। विगत दुई दशकदेखि सो सडक ग्राभेलमात्रै भइरहेको स्थानीय बताउँछन्। गोदावरी–११, कृष्णमन्दिर टोलका दिपक विकले २०७४ को निर्वाचनबाट आएको पहिलो स्थानीय सरकारले सडक चौडा गरेर ग्राभेल गरेको बताए। उनले सडक कालोपत्रे हुन नसकेको, खोला नालाहरुमा पुल नबनेको हुनाले ओलानी क्षेत्रका बासिन्दालाई वर्षात्को समयमा हिडदुल गर्न चुनौतीपूर्ण हुने गरेको बताए।
शासन प्रणाली र राज्य व्यवस्था फेरिए पनि सडक पूर्वाधारको अभावमा ओलानी क्षेत्रका जनताको अवस्था फेरिन नसकेको स्थानीय शिक्षक कृष्णबहादुर विकले बताए। उनले अझै पनि ओलानीका बासिन्दाले दैनिक गुजाराका लागि भारतीय श्रम बजार रोज्नु परेको बताए। “बजार गएर दैनिक ज्याला मजदुरी गर्न सक्ने गरी सडक पनि बनेको छैन,” उनले भने, “आफ्नै खेतबारीमा काम गर्ने हो भने सिँंचाइको व्यवस्था छैन। व्यापार व्यवसाय गर्न आफूसँंग पुँजी नभएकाले यहाँका बासिन्दाले भारतीय श्रमबजार खोज्ने गरेका छन्।”
मोहना सिंँचाइ आयोजना निर्माण भए पनि सबै ठाउँमा सिँंचाइको सुविधा पुगेको छैन। भइरहेको उत्पादन पनि सडक अभावमा बजारसँंग जोड्न नसकिएको वडा नम्बर ११ का निवर्तमान वडाध्यक्ष शिव विकले बताए। उनले सबै घरमा खानेपानी पु¥याइसकिएको हुनाले अब सबै खेतमा सिँंचाइ सुविधा पु(याउन र उत्पादनलाई बजारसंँग जोड्न स्थानीय सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए। उनले त्यसका लागि पहिलो प्राथमिकतामा राखेर चौकीडाँडा–ओलानी खण्ड पिच गरिनुपर्ने बताए।
सुदूरपश्चिम प्रदेश सरकारले चौकीडाँडा–ओलानी खण्डमा पर्ने चाक्ले खोलामा पुल निर्माण गरिरहेको छ। “चाक्ले खोलामा पुल नहुँदा सबैभन्दा बढी समस्या थियो,” निवर्तमान वडाध्यक्ष विकले भने, “यो पुल लगभग निर्माण सम्पन्न हुने क्रममा छ। यो बर्खादेखि पुल माथिबाट हिँड्न पाइने आशामा छौं।”
उनका अनुसार प्रदेश सरकारले चौकीडाँडा–ओलानी खण्डको कृष्ण मन्दिरदेखि दुईतर्फी नालीसहित सडक कालोपत्रे गर्ने गरी चालू आर्थिक वर्षमा साढे १० करोड रुपैयाँ विनियोजन गरेको छ। “हाम्रो पहलमा प्रदेश सरकारले कालोपत्रे गर्नका लागि बजेट विनियोजन गरेको छ,” निवर्तमान वडाध्यक्ष विकले भने, “बजेट विनियोजन भएर डीपीआर गरिएको छ। केही दिनमै ठेक्का लाग्ने खबर आएको छ।”
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले सो सडक निर्माणका लागि बहुवर्षीय योजनाको रूपमा अगाडि बढाउने तयारी गरेको छ। उनले ओलानीको अवस्था फेर्नका लागि सडक, पुल र मोहना सिँचाइ आयोजना निर्माणलगायतका योजना रहेको बताए।
ओलानी क्षेत्रमा पर्ने तीनवटा वडामा २० हजारभन्दा बढी जनसंख्याको बसोबास छ। अत्तरियादेखि फल्टुडे पुग्ने महाकाली लोकमार्गभन्दा छोटो दूरीको बाटो अत्तरिया चौकीडाँडा–ओलानी–फल्टुडे सडक हो। यो बनेपछि वैकल्पिक रोडको रूपमा प्रयोगमा आउने प्रदेश सरकारले दाबी गरेको छ। आजको कारोबार दैनिकबाट