काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तामा हवाई रुट उपलब्ध गराउन र पश्चिम सेतीमा लगानीका लागि सहजीकरण प्रस्ताव गरेका छन् । आफ्नो निमन्त्रणामा बुद्धजयन्तीको अवसर पारेर सोमबार लुम्बिनी आएका मोदीलाई नयाँ हवाई रुट खोल्न देउवाले प्रस्ताव गरेका हुन् ।
देउवाले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरु भइसकेको स्मरण गराउँदै महेन्द्रनगर, नेपालगन्ज र जनकपुरमा थप हवाई प्रवेश रुट उपलब्ध गराउन आग्रह गरेका थिए । देउवाको प्रस्तावमा मोदीले सम्बन्धित भारतीय अधिकारीले यसबारे गम्भीरतापूर्वक छलफल गर्ने आश्वासन दिएका छन् ।
‘भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीद्वारा उठाइएका विषयबारे सम्बन्धित भारतीय अधिकारीले गम्भीरतापूर्वक छलफल गर्ने आश्वासन दिनुभएको छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ । परराष्ट्रले जारी गरेको विज्ञप्तिअनुसार गौतमबुद्ध विमानस्थलले दुई देशबीच थप कनेक्टिभिटी, सांस्कृतिक सम्बन्ध, जनस्तरको आवागमन बढ्ने र सांस्कृतिक पर्यटन वृद्धि गर्ने उल्लेख गर्दै देउवाले हवाई प्रवेश रुटका लागि आग्रह गरेका थिए । देउवाले १९ चैतमा दिल्लीमा भएको औपचारिक वार्तामा पनि मोदीसँग हवाई रुट अनुमतिका लागि आग्रह गरेका थिए ।
प्रधानमन्त्री देउवाले पश्चिम सेती परियोजनामा लगानीको सहजीकरण गरिदिन पनि मोदीसँग आग्रह गरेका छन् । परराष्ट्रका अनुसार देउवाले भारतको नेसनल हाइड्रोपावर इलेक्ट्रिक कर्पोरेसन (एनएचपिसी)लगायत इच्छुक भारतीय कम्पनीलाई पश्चिम सेतीमा लगानीका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री मोदीले नेपालको जलविद्युत् क्षेत्रको विकासमा भारतको सहयोग रहने तथा पश्चिम सेतीबारे चासो राख्ने भारतीय लगानीकर्तालाई प्रोत्साहन गर्ने आश्वासन दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उनीहरूबीच पञ्चेश्वर परियोजनालाई प्राथमिकताका साथ अघि बढाउने सहमति पनि भएको छ ।
देउवाले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी निर्माण, डडेल्धुराको परशुराम धाम र भारतको उत्तराखण्डस्थित पूर्णागिरी माई जोड्ने पुल तथा महाकाली नदीमा नेपाल र झुलाघाट जोड्ने पुललगायत पूर्वाधार निर्माणमा सहयोग गर्न पनि आग्रह गरेका छन् । देउवाले भारतीय अनुदान सहयोगमा उदयपुरको मोतीगडा–फत्तेपुर–रामपुर सडक निर्माणका लागि समेत मोदीलाई आग्रह गरेका छन् ।
काठमाडौंबाहिर दुई देशबीच शीर्ष तहमा पहिलोपटक औपचारिक वार्ता भएको हो । भारतीय प्रधानमन्त्री मोदीसँग राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विनयमोहन क्वात्रा, कार्यवाहक राजदूत नाम्ग्य सी खम्पासहित विदेश मन्त्रालयका अधिकारी थिए । प्रधानमन्त्री देउवासँग गृह, परराष्ट्र, भौतिक पूर्वाधार, ऊर्जा, शिक्षा, कानुनमन्त्री तथा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।