काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौं पटक नेपाल आउँदा भारतमा नेपालको पर्यटन प्रवद्र्धन गर्न सहज भएको विश्वास गरिएको छ। पाँचौं पटकको भ्रमणमा सीधै लुम्बिनी आएका भारतीय प्रधानमन्त्रीले नेपाल र भारतले विश्वमा मिलेर बुद्धको सन्देश फैलाउनुपर्ने बताउँदै गर्दा नेपालका पर्यटन मन्त्री तथा प्रधानमन्त्री पनि सँगै थिए।
साथै, निजी क्षेत्रको बाक्लो उपस्थितिमा भारतीय प्रधानमन्त्रीको उक्त भारतमा नेपालप्रति रहेको सद्भावनालाई पर्यटन प्रवद्र्धन गर्ने अवसरका रूपमा पनि लिनुपर्छ। नेपालमा भारतीय पर्यटकको आगमन लगातार रूपमा वृद्धि हुँदै गएकोे परिप्रेक्ष्यमा नेपालले अझ बढी बजार विस्तार गर्ने सम्भावना छ, जसमा भारतीय प्रधानमन्त्री मोदीको बुद्धजयन्तीको अवसर पारेर भएको लुम्बिनी भ्रमणले झन् बजारीकरण गर्न सहज बनाइदिएको छ।
नेपालका पर्यटन उद्योग सम्बद्ध निकायहरू तथा निजी क्षेत्रको सहकार्यमा मोदीको भ्रमणलाई नेपालको पर्यटन प्रवद्र्धनमा कसरी उपयोग गर्ने भन्नेबारेमा चिन्तन हुनु आवश्यक छ। नेपालमा भारतीय प्रधानमन्त्रीको नियमित आगमनले धार्मिक पर्यटक प्रवद्र्धनमा सहयोग भएको कुरामा दुईमत छैन। किनकि भारतीय प्रधानमन्त्रीले हरेक पटक कुनै न कुनै धार्मिक आध्यात्मिक विशिष्ट पर्यटकीय क्षेत्रको भ्रमण गरेर ती स्थानको पर्यटन प्रवद्र्धनमा सहयोग गरेका छन्।
पशुपतिनाथदेखि, मुक्तिनाथ होस् वा जनकपुरदेखि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी होस्, भारतीय प्रधानमन्त्रीले नेपालमा ती स्थान भ्रमण गर्दा भारतीय सञ्चारमाध्यमले प्रमुखताका साथ प्रत्यक्ष प्रसारण एवं समाचारमा विशिष्ट स्थान दिएर राम्रोसँग प्रचार प्रसार गरिदिएका छन्। भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणपछि मुक्तिनाथ यात्रा गर्ने भारतीय तीर्थयात्रीको संख्यामा दोब्बरले वृद्धि भएको तथा बाह्य पर्यटकको आगमन पनि बढेको थियो। त्यसैले यसबाट नेपालका पर्यटन व्यवसायीले पनि फाइदा लिन सिक्नुपर्छ।
भारतीय सञ्चारमाध्यममा भएको नेपालको प्रचारप्रसारलाई नेपालका पर्यटन व्यवसायीले उपयोग गरी बढीभन्दा बढी भारतीय पर्यटक आकर्षण गर्न आवश्यक छ, जसका कारण पछिल्ला दुई वर्ष कोरोना कहरका कारण थलिएको नेपाली पर्यटनको पुनरुत्थान गर्न सहज हुने अपेक्षा गर्न सकिन्छ। भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले भारत तथा तेस्रो मुलुकका पर्यटकमाझ बुद्धको जन्मस्थलका बारेमा भएको प्रचार तथा प्रसारलाई नेपालले फाइदा लिन सकेन भने यस्तो अवसर खेर जानेछ। किनकि भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले लुम्बिनीको प्रचारप्रसारमा सहयोग पुगेको छ। त्यसमाथि पनि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धजयन्तीकै दिन भारतीय प्रधानमन्त्रीको भ्रमणले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने कुरामा कुनै शंका छैन।
यसै बेला नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु पनि सुखद समाचार हो। सात दशकसम्म एउटै अन्तर्राष्ट्रिय विमानस्थल मात्र रहेकोमा अब नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन्। यसबाट पनि अब पर्यटक बढ्न सक्ने अपेक्षा छ।
नेपालको पश्चिम भागमा आउने पर्यटकले सीधै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्न सक्ने भएका कारण काठमाडौंमा उत्रेर फेरि अर्को हवाईयात्रा गर्नु नपर्दा आगमन सहज हुने विश्वास लिन सकिन्छ। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम बीचमा रोकिएको थियो। त्यसपछि निर्माण सम्पन्न कार्यतालिका संशोधन गरी सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना बनाए तापनि कोरोना कहरका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको छ।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको अनुमान छ। साथै, दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाउने प्रक्रियाका बीच आन्तरिक एयरलाइन्सले उडान गरिरहेका छन्। बुद्धजयन्तीकै दिन एउटा विदेशी वायुसेवा कम्पनीले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहजीकरण गरेको छ।
आजको कारोबार दैनिकबाट