काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरी मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन समारोहमा सहभागी भएका छन्। नेपालका लागि अमेरिकी राजदूत बेरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडी–नेपालकी प्रमुख सेपिडे केभान्साडका साथ सोमबार उद्घाटन समारोहमा सहभागी भएका हुन्।
वि.सं. २०७२ सालको महाभूकम्पबाट प्रभावित जिल्लाहरूमा २९ वटा स्थायी विद्यालय र सात वटा स्वास्थ्य सेवा संरचनाहरूको पुनर्निर्माणमा अमेरिकी सरकारले युएसएआईडीमार्फत नेपाल पुनर्निर्माण प्राधिकरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरेको हो। यो कार्यक्रमसँगै काठमाडौं उपत्यकाबाहिर युएसएआईडीद्वारा गरिएको भूकम्पपछिको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।
‘‘सबैभन्दा बढी अभावमा रहेका नेपाली जनताको स्वास्थ्य सेवा र शिक्षामा पहुँचलाई अमेरिकी सरकारले प्राथमिकतामा कायम राखेको छ।,’’ उक्त कार्यक्रममा बोल्दै राजदूत बेरीले भने, ‘‘यसै प्रतिबद्धताको एक हिस्सा स्वरूप मकवानपुरका सर्वाधिक विकट क्षेत्रमध्ये एकमा यस स्वास्थ्य चौकीको निर्माण गर्न हामीले नेपाल सरकारसँग साझेदारी गर्यौँ। जसले सबैभन्दा विपन्न समुदायहरूमध्ये एकलाई फाइदा पुर्याउने छ। यसले चिरस्थायी मित्रता र अझ सुरक्षित नेपालको पुनर्निर्माणमा मद्दत गर्न अमेरिकी जनताको निरन्तर सहयोग दर्साउँछ।’’
महाभूकम्पपश्चात्को प्रतिकार्य तथा पुनर्लाभमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ।
‘‘हाम्रो सहयोगले बालबालिका र परिवारहरूलाई स्वास्थ्य सेवा तथा शिक्षा प्राप्ति जारी राख्न सक्षम बनाएको छ। हामीले भौतिक पूर्वाधार मात्रभन्दा धेरै बनाएका छौँ, जसको प्रतीक यस स्वास्थ्य चौकीले प्रस्तुत गरेको ।’’ उनले भने, ‘‘यस भवनले नेपालको प्रत्येक परिवार गुणस्तरीय स्वास्थ्य सेवा र सो सेवा प्राप्त गर्न सुरक्षित स्थानको हकदार होउन् भन्ने सुनिश्चित गर्नका निम्ति युएसएआईडी र नेपाल सरकारबीच रहेको सहकार्य प्रदर्शन गर्दछ।’’
यी संरचनाले दुई लाख ४० हजारभन्दा बढी नेपालीलाई लाभ पुर्याएसँगै यस हस्तान्तरणले सुरक्षित पुनर्निर्माण गर्न र नेपालका बालबालिका तथा परिवारहरुका निम्ति गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा सुनिश्चित गर्नमा नेपाल सरकारलाई सहयोग गर्न अमेरिका निरन्तर कटिबद्ध रहेको उनले बताए।
राजदूत र्यान्डी डब्ल्यु बेरीले अमेरिकाको नेपालसँग ७५ वर्षदेखि मजबुत र चिरस्थायी साझेदारी रहिआएको र हाम्रो मित्रतालाई निरन्तरता दिन तत्पर रहेको बताए।
गोरखापत्रबाट