काठमाडौं। नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ। हिजो पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो।
महासंघले आयल निगमले हिजो प्रेषित गरेको प्रेस विज्ञप्ति अनुसारको थप हुने मूल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ।
यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्री–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
पेट्रोलियम पदार्थको अनावश्यक खपत र मानवीय स्वास्थ्य एवम् वातावरणीय नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन, मेसिनरी, उपकरणहरु निश्चित अवधि पश्चात् चल्न नपाउनेगरी कानुनी तर्जुमा गर्नसमेत महासंघले प्रस्ताव राखेको छ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्द्र साउदले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल रोक्न सरकारसँग माग गरे।
उनले सानातिना विषयमा सडकमा आउने ईच्छा नभएपनि अब बाध्य भएर महासंघ सडकमा उत्रिनुपर्ने दिन आएको सुनाए। उनले देशमा दिनहुँ मूल्यवृद्धि बढ्दै गएको उल्लेख गर्दैै देश नै नरहने अवस्था आउन लागेको भन्दै चिन्ता व्यक्त गरे।
उनले आफूहरुका माग सम्बोधन गर्न सरकारबाट आवश्यक पहल नभए सडकमा आउने पनि चेतावनी दिए। उनले भने,‘सरकारले हाम्रा मागहरु सम्बोधन गर्न आवश्यक पहल नगरे आन्दोलनका कार्यक्रमहरु महासंघको अगुवाईमा अगाडि बढाउनेछौँ।’