काठमाडौं। दुई वर्षदेखि ठप्प रहेको काठमाडौँ वसन्तपुर क्षेत्रको नौतले दरबार पुनर्निर्माण पुनः सुरु भएको छ। कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक र कामदार टोली नेपाल आएसँगै काम सुरु भएको हो।
हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले दरबार पुनर्निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका प्राविधिकले काम थालेको जानकारी दिए। पुनर्निर्माणको जिम्मा ‘चाइनिज एकेडमी अफ कल्चरल हेरिटेज’ ले पाएको छ।
उनका अनुसार २०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीभन्दा पहिला नै चिनियाँ प्राविधिक स्वदेश फर्केका थिए । त्यस बेलादेखि नै पुनर्निर्माणको काम ठप्प थियो । २०७२ सालमा गएको भूकम्पले दरबार क्षतिग्रस्त भएको थियो ।
दरबारको मुख्य संरचनाको पुनर्निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको बताउँदै उनले अब भित्री भागको अन्तिम काम बाँकी रहेको जानकारी दिए। उनले भने, “बाहिरी काममा बाँकी रहेको छानाको काम सकेर ‘स्काप होल्डिङ’ (फलाम र बाँसका भर्याङ)हरू खोलिन्छ र भित्री काम सुरु गरिन्छ।’’
प्रमुख खनालले छ महिनाभित्र काम सकिने जानकारी दिए। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको सो दरबार निर्माणको अवधि २०७९ को कात्तिक (सन् २०२२ को नोभेम्बर) सम्म रहेको छ। चिनियाँ येन दस करोडमा पुनर्निर्माण भइरहेको छ।
विक्रम संवत् १८२६ देखि १८३० सम्म पृथ्वीनारायण शाह र उनका छोरा प्रतापसिंह शाहले नौ तले दरबारको निर्माण गर्न लगाएका थिए। वसन्तपुरको सो ठाउँमा मल्लकालदेखि नै दरबार रहेको इतिहास छ। २०७३ असोज १३ गते नेपाल र चीनबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो।
पुरातत्त्व विभाग र चिनियाँ प्राविधिकको संयुक्त टोलीले उक्त दरबारको पुनर्निर्माणको डिजाइन गरेको थियो। चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ साउन ३१ गते वसन्तपुर दरबार क्षेत्रस्थित नौतले दरबार पुनर्निर्माणको संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो।
आजको गोरखापत्रबाट