काठमाडौं। काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाकाका रूपमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले २ हजार ७ सय ९६ मिटर सुरुङमार्ग सम्पन्न भएको जानकारी दिएका छन् । २ हजार ६ सय ८८ मिटर लम्बाइको मुख्य सुरुङमार्ग पूर्वबाट ६ सय १ मिटर र पश्चिमबाट ६ सय ३ मिटर सम्पन्न भएको हो ।
आकस्मिक सुरुङमार्गको २५ सय ५७ मिटर लम्बाइमध्ये पूर्वमा ८ सय २८ मिटर र पश्चिममा ५ सय ९१ प्रतिशत सम्पन्न भएको छ । वर्किङ अडिटका लागि १ सय २६ मिटर सुरुङ खनिएको छ भने मुख्य सुरुङमार्ग र आकस्मिक सुरुङमार्गबीच खन्नुपर्ने सुरुङमार्ग ४४ मिटर खनिएको छ । क्रस प्यासेजका लागि १ सय २८ मिटर सुरुङ खन्नुपर्नेमा ४८ मिटर खनिएको छ । आयोजनामा कुल सुरुङ ५ हजार ४ सय ९९ मिटर खन्नुपर्छ जसमा पूर्वबाट १४ सय ६१ मिटर खनिएको छ भने पश्चिमबाट १३ सय ३६ मिटर गरी २७ सय ९६ मिटर खनिएको छ ।
आयोजनामा तीनवटा अन्डरपास गर्न‘पर्नेमा दुईवटा सम्पन्न भएको छ । बक्स कल्भर्ट चारवटा बनाउनुपर्नेमा सम्पन्न भएको छ । एकवटा ओभरपास र तीनवटा पुल निर्माण सम्पन्न भएका छन् । आयोजनामा एकवटा फ्लाई ओभर बनाउने लक्ष्य राखिएको छ । आयोजना प्रमुख शाक्यले सुरुङमार्गसम्म पुग्ने सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न भएको र फाइलिङ ३९ प्रतिशत सम्पन्न भएको जानकारी दिएका छन् ।
आयोजनाले सुरुङमार्ग खन्ने काम ५० प्रतिशत भए पनि भौतिक पूर्वाधारको काम ३५ दशमलव ५ प्रतिशत सम्पन्न भएको जनाएको छ भने आर्थिक प्रगति भने ४५ दशमलव ५० प्रतिशत रहेको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्ग निर्माण आयोजनाअन्तर्गत समग्रमा भौतिक प्रगति ३५ दशमलव ५ प्रतिशत आर्थिक प्रगति ४५ दशमलव ५० प्रतिशत पुगेको छ ।
निर्वाचनमा तीन दिन बन्द आयोजनाले गत ३० वैशाखको स्थानीय तहको निर्वाचनका लागि तीन दिन काम रोकिएको जनाएको छ । २९ वैशाखदेखि ३१ सम्म आयोजनाको काम बन्द भएको थियो । आयोजना प्रमुख शाक्यले निर्वाचनमा मतदान गर्न गएका कर्मचारी फर्कने क्रममा रहेको र हाल करिब ६ सयले काम गरिरहेको जनाएका छन् । ४२ महिनामा सम्पन्न गर्नेगरी सो आयोजना २०७६ कात्तिकमा निर्माण सुरु भएको थियो । जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबीच २०७६ असोजमा सम्झौता भई निर्माण भइरहेको छ ।
शाक्यले आयोजना समपन्न गर्न तीन महिना समय थप गरिएको र सो समयभित्रै काम सम्पन्न गरिने जनाएका छन् । नागढुंगा सुरुङमार्ग जापान सरकारको सहयोगमा जापानी निर्माण कम्पनीद्वारा निर्माण भइरहेको राष्ट्रिय प्राथमिकताको आयोजना हो । नागढुंगा–नौबिसे सुरुङमार्ग लागि जापानी सहयोग नियोगले १६ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग दिएको छ ।
सो ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य दशमलव शून्य एक प्रतिशत रहेको छ । २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्नेछ । करिब २ दशमलव ६ किलोमिटरको यो सुरुङमार्ग चन्द्रागिरी नगरपालिका–१ टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोला निस्कनेछ ।
दुई लेनको यो सुरुङमार्गसँगै समानान्तर हुनेगरी इभाकुएसन टनेलसमेत निर्माण भइरहेको छ । आपतकालीन रूपमा प्रयोग गर्न इभाकुएसन टनेल निर्माण गरिएको हो । यसअघि, सुरुङमार्ग निर्माणका लागि ६ वटा कम्पनीले टेन्डरमा सहभागिता जनाएका थिए । जसमा पाँचवटा चिनियाँ कम्पनी थिए भने एउटा जापानी कम्पनी रहेको थियो । सुरुङमार्ग २ दशमलव ६ किमी लामो बन्नेछ ।
सुरुङमार्ग निर्माणपछि भने नागढुंगा–सिस्नेखोलाको दूरी सवा तीन किमिमा झर्नेछ । अहिले यो दूरी साढे आठ किमि रहेको छ । आयोजनाअन्तर्गत सुरुङमार्गसँगै गुर्ज‘धाराबाट पश्चिमतर्फ ६ सय मिटरको फ्लाइओभर पनि बनाउने योजना छ । सो फ्लाइओभर नेपालकै पहिलो हुने जनाइएको छ । आजको राजधानी दैनिकबाट