काठमाडौं। कोहलपुरमा निर्माण कार्य सम्पन्न नहुँदै लामो दुरीको बसपार्कको टर्मिनल भवन उद्घाटन गरिएको छ। कोहलपुर–११ स्थित डुडुवा नाला नजिकै निर्माणाधीन लामो दुरीको बसपार्कको भवन मंगलबार उद्घाटन गरिएको हो।
मंगलबार बिहान नगरपालिकाद्वारा आयोजित कार्यक्रमका बीच नगर प्रमुख लुटबहादुर रावतले बसपार्कको उद्घाटन गरेका हुन्। उक्त बसपार्क निर्माण सम्पन्न भइसकेको छैन । निर्माण सम्पन्न हुन अझै करिब आठ महिना बाँकी छ।
तर नगर प्रमुखको कार्यकाल सकिनै लाग्दा भवनको उद्घाटन गरिएको हो। अहिले कोहलपुरमा नयाँ जनप्रतिनिधि छनोटको लागि मतगणना भइरहेको छ। उक्त अवसरमा बोल्दै नगर प्रमुख रावतले पाँच वर्षको अवधिमा कोहलपुरमा दर्जनांै गौरवका आयोजना निर्माण कार्य सम्पन्न गरेको बताए। उनका अनुसार नगरपालिकाले निर्माण गरेको सबैभन्दा ठूलो तथा गौरवको आयोजना निर्माणको अन्तिम चरणमा छ।
‘पाँच वर्षमा हेर्न र घुम्न लायक ठाउँ बनाएका छौं,’ उनले भने । यस्तै उनले नगरपालिकाले आफैँ निर्माण गरेको बसपार्क राष्ट्रिय गौरवको आयोजना भएको समेत दाबी गरे। ‘पत्रकार साथीहरु निर्माण भइरहेको भवन किन उद्घाटन भयो भन्नुहोला। हाम्रो अवधि अब सकिएको छ। यो निर्माणाधीन अवस्थामा रहे पनि सम्पन्न हुने चरणमा भएकाले उद्घाटन गरिएको हो,’ उनले प्रष्ट्याए।
बसपार्कको टर्मिनल भवन निर्माण भइरहेको भवनमा बैंक राख्न मिल्ने उनले बताए। यस्तै प्रहरी चौकी, स्वास्थ्य चौकी र वडा नम्बर ११ को वडा कार्यालयसमेत निर्माण गरिएको छ। उक्त अवसरमा वडा कार्यालयसमेत उद्घाटन गरियो। प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सिंगो बसपार्क नभइ टर्मिनल भवन मात्रै उद्घाटन गरिएको जानकारी दिए।
बसपार्क निर्माणको लागि नगरपालिकाले नगर विकास कोषसँग २७ करोड ९९ लाख १८ हजार रुपैयाँ ऋण सम्झौता गरिएको छ। बसपार्क निर्माणको लागि ६० प्रतिशत नगर विकास कोषको ऋण र ४० प्रतिशत नगरपालिका आफैँले लगानी गरेको छ। वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षको लागि कोषसँग ऋण सम्झौता गरिएको थियो।
आजको नागरिक दैनिकबाट