गुल्मी। रेसुंगा नगरपालिका–८ का दुई स्थानमा पक्की सडक भत्किएर ठूला जोखिमपूर्ण खाडल बनेका छन्। त्यो पनि अति व्यस्त र अस्पताल तथा विद्यालय क्षेत्रअगाडि । रेसुंगा नगरपालिका–८ को खानीगाउँ चौडाह निकै व्यस्त ठाउँ हो ।
जसको नजिकै सिद्धबाबा मावि र रिडर्स पब्लिक हाइस्कुल रहेका छन् । सिद्धबाबा विद्यालयको गेटनजिकैको सडकमा ठूला खाल्डा भएको महिनौ भयो । तर, अहिलेसम्म पनि सडक मर्मत भएको छैन ।
बिहान विद्यालय र कार्यालय समयमा स्कुलबस र विद्यार्थीको ओहोरदोहोरले सडक निकै व्यस्त हुने गर्दछ । त्यसबाहेक रेसुंगा नगरपालिका( १४ पराल्मीबाट आउने सार्वजनिक यातायात र रेसुंगा क्षेत्रमा निर्माणका सामग्री बोक्ने ट्रिपर र ट्याक्टरका कारण ठूलो दुर्घटनाको सम्भावना रहेको छ ।
खानीगाउँ चौडाहमा केही दिनअघि बस पसलभित्र पसेर लाखौँको भौतिक क्षति गर्यो । दुर्घटना रातिको समयमा भएकाले ठूलो मानवीय संकट टर्यो । तर, दुर्घटनाको सम्भावना अझै टरेको छैन।
साँघुरो, ओरालो र खाल्डाखुल्टी भएको सडक लामो समय मर्मत नहुँदा बच्चा लिएर विद्यालय पुग्ने मात्रै नभएर घरमै बस्ने अभिभावक पनि ढुक्क हुने अवस्था नभएको रेसुंगा नगरपालिका–८ की कमला केसीले गुनासो गरिन्।
‘विद्यार्थीको भिडले निकै व्यस्त सडकमा गाडी आए कसरी विद्यालय पुग्ने भनेर तनाव हुन्छ । त्यसैमाथि बीचसडकको खाल्डो तर्काउँदा गाडीले कसलाई हान्ने हो केही थाहा हुँदैन,’ उनले भनिन, ‘महिनौँसम्म सोच्ने र बनाउने कोही भएनन्।’
त्यस्तै, गुल्मी अस्पतालअगाडि पनि निकै ठूला खाडल छन् । जसका कारण तलमाथि गर्ने सानाठूला गाडीहरूलाई निकै ठूलो समस्या रहेको छ । बैंक, अस्पताल र टेलिकम क्षेत्र भएकाले सडकको बिजोगबारे धेरैले आलोचना गर्ने गरेका छन् ।
रेसुंगा नगरपालिकामा मेयर डिल्लीराज भुसालले सबै बजारमा पुनः पक्की सडक निर्माणका लागि बजेट व्यवस्थापन गरेर टेन्डर भइसकेकाले धेरै समय समस्या नहुने बताए । उनले अब केही ठाउँका खाल्डा मात्रै नपुर्ने भएकाले सबै बजार नै पक्की बनाउने गरेर काम अगाडि बढेको जानकारी दिए । नयाँ पत्रिकाबाट