काठमाडौं। आगामी जेठ १५ मा आउने बजेटबाट ऊर्जा, सिंचाइ तथा जलस्रोत मन्त्रालयले करिब एक खर्ब १२ अर्ब रुपैयाँ बजेट पाउने भएको छ। आर्थिक वर्ष २०७९/०८० को बजेटबाट ऊर्जाले यो रकम पाउने भएको हो।
मन्त्रालयले पाउने कुल बजेटमध्ये ऊर्जातर्फ करिब ८५ अर्ब ३ करोड रुपैयाँ र जलस्रोत तथा सिंचाइतर्फ करिब २७ अर्ब ९० करोड रुपैयाँ पाउने मन्त्रालय उच्च स्रोतको दाबी छ।
यसमा ऊर्जातर्फ चालु खर्चका लागि तीन अर्ब २३ करोड रुपैयाँ र पुँजीगततर्फ ११ अर्ब २१ करोड रुपैयाँ पाउने जनाइएको छ।
यस्तै, जलस्रोत तथा सिंचाइको चालुतर्फ एक अर्ब ३५ करोड रुपैयाँ र पुँजीगततर्फ २६ अर्ब ५४ करोड रुपैयाँ पाउने निश्चित भएको पनि मन्त्रालय स्रोतको दाबी छ।
आगामी दुई वर्ष सबैलाई राष्ट्रिय प्रणालीको विद्युत दिने गरी आगामी बजेटमार्फत् कार्यक्रम घोषणा गर्ने योजना ऊर्जा मन्त्रालयको छ। त्यसका लागि समेत बजेटमा कार्यक्रम आउनेछ। नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले करिब ९४ प्रतिशत विद्युतीकरण भएको छ।
त्यसैगरी विद्युतीय चुल्हो प्रवर्द्धन र प्रोत्साहनका लागि समेत कार्यक्रम ल्याउन लागिएको छ।
यस्तै, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रसारणलाइनहरुलाई अपग्रेड गर्ने योजना पनि बनाइएको छ। उपत्यकासहित विभिन्न स्थानको विद्युत वितरण प्रणाली समेत गुणस्तरीय विद्युत प्रवाह गर्न सक्ने गरी अपग्रेड गर्न लागिएको छ। यी योजना पनि बजेटमा पर्ने सम्भावना छ।
साथै, आगामी वर्ष सात सय मेगावाट विद्युत राष्ट्रिय प्राणालीमा थप गर्ने योजना छ। विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माणाधीन १११ मेगावाटको रसुवागढी, माथिल्लो सान्जेन १४.८ मेगावाट, सान्जेन ४२.५ मेगावाट सम्पन्न गरिसक्ने योजना छ।
निजी क्षेत्रबाट प्रवर्द्धित ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला , ५४ मेगावाटको सुपर दोर्दी 'ख' लगायतका आयोजना पनि पूरा गरेर सात सय मेगावाट विद्युत प्रणालीमा थप गर्ने योजना छ।