काठमाडौं। ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ शुरू गरिएको बागमती सफाइ महाअभियान १०औं वर्षमा प्रवेश गरेको छ । उक्त महाअभियान बिहीवार देखि ९ वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको हो ।
२०७० जेठ ५ गते काठमाडौंको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यले सफाइ महाअभियान शुरू गरिएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य थियो ।
तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरू गरिएको उक्त महाअभियान अनुसार प्रत्येक हप्ता शनिवार बिहान गर्मीमा ७ बजेदेखि ९ बजेसम्म र जाडोमा साढे ७ बजेदेखि साढे ९ बजेसम्म बागमती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ । महाअभियान अहिले ४७१ औं हप्तामा चलिरहेको छ ।
बागमतीबाट हालसम्म २० हजार मेट्रिक टन फोहोर व्यवस्थापन भएको बताइएको छ । महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । महाअभियानलाई सहयोग गरे पनि उद्देश्यअनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ ।
महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले फोहोर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक हुने बताए । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा बागमतीका सहायक नदी, बागमतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ ।
काठमाडौं उपत्यकाका हाल गुह्येश्वरीमाथिको बागमती, तिलगंगा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानमा सफाइ भइरहेको छ ।
काठमाडौं उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौं उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको महाअभियानले जानकारी दिएको छ । अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने माग उठ्दै आएको छ ।