गुल्मी। गुल्मीका १२ पालिकामध्ये १० वटाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन्। शुक्रबार पदभार ग्रहण गरेका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णय गरेका छन्।
रुरुक्षेत्र गाउँपालिकाले घरेलु प्रयोगकर्ताका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्षको सुरुदेखि नै सबै घरको न्यूनतम विद्युत् महसुल पालिकाले तिरिदिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए।
बीमामा छुट र सुत्केरीलाई यातायात खर्च
चन्द्रकोट गाउँपालिकाले विपन्नका लागि स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। आर्थिक विपन्नताकै कारणले नागरिकले स्वास्थ्य बीमा गर्न नसकेकाले छुट दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले बताए। चन्द्रकोटले पालिकामै प्रसूति हुन नसकेर बाहिर लैजानुपरेमा त्यसको यातायात खर्च दिने निर्णय गरेको छ।
अस्पतालले रिफर गरेको काजगपत्रका आधारमा आवश्यक यातायात खर्च दिने निर्णय गरिएको अध्यक्ष खत्रीले जानकारी दिए।
छत्रकोट गाउँपालिकाले वडा नम्बर ४ मा रहेको शृंगा प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर ५ खर्ज्याङका लागि दुई वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ। अहिले एउटा पुरानो एम्बुलेन्स भएको र त्यो पर्याप्त नभएकाले नयाँ खरिदको निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। त्यस्तै नागरिकको सेवा सहजताका लागि पालिकामा ‘हेल्प डेक्स’ स्थापना गर्ने निर्णय गरेको छ।
छत्रकोटको वडा नम्बर ६ दौघाको लिफ्टिङ खानेपानीको लागि गाउँपालिकाको बजेटबाट तीन लाखबराबरको सामग्री खरिद गर्नको लागि निर्णय गरिएको अध्यक्ष पाण्डेले बताए।
मालिका गाउँपालिकाले आगामी पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने निर्णय गरेको छ। वृद्ध, अपांग र अशक्तको लागि टोल–टोलमा सामाजिक भत्ता वितरण गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी जगत पौडेलले बताए। मालिकाले राजस्व परामर्श समिति गठन गर्ने पनि निर्णय गरेको छ।
गुल्मीदरबार गाउँपालिकाले बलिथुमकी नर्मदा रेश्मीलाई बिजुली जडानको लागि १० हजार रुपैयाँ दिने निर्णय गरेको छ। सत्यवती गाउँपालिकाले चालु आर्थिक वर्षका बाँकी योजना समयमै पूरा गर्ने र आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र रेग्मीले बताए।
मदाने गाउँपालिकाले पालिकाका एकजना बिरामीको लागि कार्यविधिअनुसारको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।